भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सकको आफ्नै फ्ल्याटभित्र हत्या भएको घटनाले सनसनी मच्चाएको छ । ४५ वर्षीय एनेस्थेसियोलोजिस्ट डा. किरण होन्नन्नावर मृत अवस्थामा फेला परेका छन् भने उनका ८ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा उद्धार गरिएका छन् ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले उनकी पत्नी तथा नेत्ररोग विशेषज्ञ डा. प्रियंकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार डा. किरणको शव शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएका चोटसहित फ्ल्याटभित्र फेला परेको थियो । अर्को कोठामा उनका ८ वर्षीय छोरा पनि चक्कु प्रहारबाट गम्भीर घाइते अवस्थामा रगतले लतपतिएका अवस्थामा भेटिएका थिए । घाइते बालकलाई तत्काल अस्पताल पुर्याइएको र उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाको खुलासा डा. किरणसँग लामो समयसम्म सम्पर्क हुन नसकेपछि भएको हो । आफन्तहरूले पटक–पटक फोन गर्दा उनकी पत्नी डा. प्रियंकाले सुरुमा “उनी आराम गरिरहेका छन्” र पछि “उनी ड्युटीमा गएका छन्” भन्दै फरक–फरक जानकारी दिएको प्रहरीको भनाइ छ । यसपछि शंका लागेर आफन्तहरू फ्ल्याटमा पुगेका थिए । त्यहाँ डा. किरण मृत अवस्थामा र उनका छोरा गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा डा. प्रियंका अर्को कोठामा शान्त रूपमा मोबाइल चलाइरहेको अवस्थामा भेटिएकी थिइन् । प्रहरी आयुक्त एन. शशिकुमारका अनुसार घटनास्थलमा कुनै बाह्य व्यक्तिले जबरजस्ती प्रवेश गरेको प्रमाण फेला परेको छैन। प्रारम्भिक अनुसन्धानबाट घटनाका बेला फ्ल्याटभित्र पति, पत्नी र छोरा मात्रै रहेको खुलेको छ ।
प्रहरीले घटनालाई प्रारम्भिक रूपमा घरेलु विवादसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ । फरेन्सिक परीक्षण, सीसीटीभी फुटेज, मोबाइल विवरण तथा अन्य प्रमाण संकलन गरी घटनाको वास्तविक कारण र हत्याको उद्देश्यबारे अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
हालसम्म प्रहरीले हत्याको वास्तविक कारण सार्वजनिक गरेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।