जनकपुरधाम । अत्यधिक गर्मी र तापक्रम वृद्धिसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
अस्पतालका अनुसार हाल दैनिक ४०० देखि ५०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्। यसअघि दैनिक औसतमा करिब ३०० जना सेवाग्राही अस्पताल आउने गरेका थिए । अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका लागि आउनेमध्ये बालबालिका र वृद्धवृद्धाको सङ्ख्या बढी रहेको छ । गर्मी बढेसँगै आँखासम्बन्धी विभिन्न समस्या देखिएपछि बिरामीको चाप बढेको उनले बताए ।
जानकी आँखा अस्पतालमा धनुषासहित सिरहा, महोत्तरी, सिन्धुलीलगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । छिमेकी मुलुक भारतको बिहार राज्यबाट पनि उपचारका लागि बिरामी आउने क्रम जारी रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले अत्यधिक गर्मीका बेला आँखाको विशेष हेरचाह गर्न, धुलो–धुवाँबाट बच्न तथा समस्या देखिएमा समयमै स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।