मधेश प्रदेशको राजधानी जनकपुरधाम र पूर्व–पश्चिम राजमार्ग जोडिने महत्वपूर्ण व्यापारिक केन्द्र ढल्केवरमा होटल व्यवसायको आडमा भइरहेका अवैध क्रियाकलापले सीमा नाघेको छ । यहाँका अधिकांश होटलहरूमा अवैध यौन धन्दा र अवाञ्छित गतिविधि मौलाउँदासमेत सम्बन्धित निकाय गम्भीर नबनेको जनगुनासो बढेको छ ।
पछिल्लो चार महिनाको अन्तरालमा ढल्केवरका दुई अलग-अलग होटलमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि यस क्षेत्रको सुरक्षा व्यवस्था र होटल सञ्चालनको मापदण्डमाथि प्रश्न उठेको छ ।
गत असार २६ गते राति, ढल्केवरस्थित ‘माँ भवानी होटल एण्ड गेष्ट हाउस’मा ५१ वर्षीया चेलीमाया तामाङ अचेत भइन् । उपचारका लागि जानकी मेडिकल कलेज लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरे । श्रीमान–श्रीमती भन्दै कोठा लिएका सिन्धुपाल्चोकका ५० वर्षीय एबनारायण श्रेष्ठ र मृतक तामाङ पति–पत्नी नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले एबनारायणलाई नियमावलीमा राखी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । होटल सञ्चालकले भने पुरुषको सवारी लाइसेन्स मात्रै हेरेर कोठा उपलब्ध गराएको स्वीकार गरेका छन् ।
यसअघि गत चैत्र १८ गते पनि ढल्केवरकै ‘जुन तारा स्टाप लाइन होटल’मा पोखरा महानगरपालिका–१३ की २३ वर्षीया जेनिसा विक मुखबाट फिँज निस्किएको अवस्थामा मृत फेला परेकी थिइन् । मृतककी आमाले होटल सञ्चालक रामपुकार साहले नै फोन गरेर आफ्नी छोरीलाई बोलाएको र घटनापछि सञ्चालक फरार भएको गम्भीर आरोप लगाएकी छिन् ।
ढल्केवर क्षेत्रमा सञ्चालनमा रहेका होटल र डान्सबारहरूमा भइरहेका यस्ता अवैध धन्दाले सामाजिक सद्भाव बिग्रिएको स्थानीय बासिन्दाहरूको आरोप रहेकाे छ । बिहानको समयमा डान्सबारका युवतीहरू अस्वाभाविक रूपमा हिँडडुल गर्ने गरेको भन्दै स्कुल जाने बालबालिका र स्थानीयहरू त्रसित बनेका छन् ।
यता, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष मुन्नाकुमार सिंहले समग्र होटल व्यवसायको प्रतिष्ठामा आँच पुर्याउने अवैध क्रियाकलापमा संलग्नहरूलाई संघले कुनै संरक्षण नदिने र कानुनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्ने स्पष्ट पारेका छन् ।
होटल व्यवसायको आडमा हुने अवैध क्रियाकलापमा प्रहरीको ‘सेटिङ’ रहेको जनगुनासोबारे इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले भने प्रहरीले नियमित रूपमा निगरानी तथा चेकजाँच गरिरहेको बताएका छन् ।
दुई–दुईवटा गम्भीर घटना र स्थानीयको चर्को विरोधका बाबजुद ढल्केवरमा मौलाएको विकृति रोक्न र होटल मापदण्ड कडाइका साथ लागू गर्न स्थानीय प्रशासन र जनप्रतिनिधिले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।