जनकपुरधाम । नेपाल खानेपानी संस्थान, लहान शाखाले लामो समयदेखि खानेपानी महसुल नतिर्ने उपभोक्ताबाट बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ । संस्थानले घरदैलो अभियान सञ्चालन गर्नुका साथै बक्यौता नतिर्ने उपभोक्ताको खानेपानी धारा काट्ने कार्यसमेत अघि बढाएको जनाएको छ ।
संस्थानका शाखा प्रमुख राकेश गोइतका अनुसार हालसम्म महसुल नबुझाएका १४० जना उपभोक्ताको खानेपानी धारा काटिएको छ । उनले बक्यौता रकम भुक्तानी गरेलगत्तै पुनः धारा जडान गरिने व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रमुख गोइतका अनुसार संस्थानले हालसम्म ७१ लाख ८० हजार ३१६ रुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी रहेको छ। बक्यौता नतिर्ने उपभोक्ताको विवरण सङ्कलन गरी कालोसूचीमा राख्ने तयारीसमेत भइरहेको उनले बताए ।
उनका अनुसार लहान नगरपालिकाको मात्रै करिब २६ लाख रुपैयाँ खानेपानी महसुल बक्यौता रहेको छ। नगरपालिकाका विभिन्न वडामा जडान गरिएका सार्वजनिक धाराको महसुल भुक्तानी हुन नसक्दा समस्या उत्पन्न भएको भन्दै उनले सार्वजनिक स्थानमा जडान गरिएका ५६ वटा धारामध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेको जानकारी दिए ।
यस्तै, घरेलु तथा साना उद्योग कार्यालय, सडक डिभिजन कार्यालय, यान्त्रिक कार्यालय, रामकुमार उमाप्रसाद स्मारक अस्पताल, नेपाल रेडक्रस सोसाइटीलगायत सरकारी कार्यालय तथा विभिन्न व्यक्ति र संस्थाबाट पनि बक्यौता रकम उठाउन बाँकी रहेको शाखा प्रमुख गोइतले बताए ।
उनले खानेपानी सेवा नियमित, प्रभावकारी र दिगो बनाउन सबै उपभोक्तालाई समयमै महसुल भुक्तानी गर्न आग्रह गर्दै बक्यौता असुली अभियानलाई आगामी दिनमा अझ कडाइका साथ कार्यान्वयन गरिने बताए ।