सर्लाहीको बसबरिया गाउँपालिका–२ का इन्दल सहनी मिटरब्याजी साहुमहाजनको कुटपिटबाट गम्भीर घाइते भएका छन् ।
जग्गा विवादलाई लिएर साहु पक्षले आफू र आफ्नो परिवारमाथि आक्रमण गरेको सहनीको आरोप छ । पीडित सहनीका अनुसार उनले लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिँदा ग्यारेन्टीका रूपमा २६ कठ्ठा जमिन धितो पास गर्ने भन्दै राजीनामा पास गराइएको थियो। मौखिक रूपमा भने साँवा–ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने सहमति भएको उनको भनाइ छ ।
सहनीले आफूले पटक–पटक गरी १०/११ लाख रुपैयाँसम्म रकम बुझाइसकेको र वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको दाबी गरेका छन् । तर साहु लक्ष्मी कुर्मी राउतको निधनपछि उनका छोरा बिलास शाहले उक्त जग्गा अर्कै व्यक्तिको नाममा बिक्री गरेको आरोप पीडित पक्षले लगाएको छ ।
सहनीका अनुसार ऋण चुक्ता गरिसकेपछि पनि पटक–पटक आग्रह गर्दा जग्गा फिर्ता गरिएको थिएन । उक्त जग्गा भने आफूले विगत १० वर्षदेखि निरन्तर जोतभोग गर्दै आएको उनले बताएका छन् ।मिटरब्याजविरुद्धको पैदल न्याय मार्चमा सहभागी सहनी आन्दोलन सकेर घर फर्किएपछि आफ्नो जग्गामा धान रोप्न साहु पक्ष जबरजस्ती आएको र त्यसक्रममा विवाद भएको बताइएको छ ।
सहनी पक्षका अनुसार साहु विशाल शाहको नेतृत्वमा उनका छोराहरू विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, राम प्रवेश शाह र परिवारका अन्य सदस्यहरूको समूहले कुटपिट गरेको हो । घटनामा इन्दल सहनीसहित उनका छोराहरू उमेश सहनी, मुना सहनी र श्रीमती भगवती कुमारी सहनी गरी चार जना घाइते भएका छन् । उनीहरूलाई बरहथवामा उपचार भइरहेको जनाइएको छ ।
पीडित परिवारले साहु पक्षले जग्गा हडप्ने उद्देश्यले आफूहरूमाथि योजनाबद्ध आक्रमण गरेको आरोप लगाएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।