सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्तीबाट ६५२ किलोग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्युरो शाखा गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार रोकिराखिएको योद्धा पिकअप गाडीमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा नास्पाती राखिएको ४६ वटा क्रेटभित्र सेतो प्लास्टिकमा बेरिएको अवस्थामा ६५२ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ नयाँ बस्ती निवासी करिब ३८ वर्षीया श्यामकुमारी साह, भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल लहान–३ मा बसोबास गर्दै आएका करिब ४० वर्षीय गौरव शाह तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बरामद गाँजा लुकाउन नास्पातीका क्रेट प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त अपरेशन इलाका प्रहरी कार्यालय लहानका प्रहरी सहायक निरीक्षक राजु प्रसाद ढकाल र लागुऔषध नियन्त्रण ब्युरो शाखा गोलबजारका प्रहरी सहायक निरीक्षक जोगिन्दर कुमार साहको नेतृत्वमा सम्पन्न भएको थियो ।
यसैबीच, पछिल्लो समय लहान क्षेत्रमा लागुऔषध कारोबार र जुवातासका गतिविधि बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्दै आएका छन् । प्रतिनिधिसभा सदस्य बब्लु गुप्तासँग भएको स्थानीय भेटघाट कार्यक्रममा समेत लहान–३, ४ र ६ का बासिन्दाले लागुऔषध नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरेका थिए ।