सप्तरी । एक समय लक्ष्यभन्दा १८२ प्रतिशत बढी राजस्व सङ्कलन गरेर चर्चामा आएको जलेश्वर भन्सार कार्यालयको राजस्व असुली पछिल्ला चार आर्थिक वर्षदेखि निरन्तर ओरालो लागेको छ ।
पेट्रोलियम पदार्थको आयात ठप्प हुनु, कृषि अग्रिम कर खारेज हुनु तथा आयातको संरचनामा आएको परिवर्तनका कारण राजस्व सङ्कलनमा उल्लेख्य गिरावट आएको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत पाँच आर्थिक वर्षको तथ्याङ्कले लक्ष्य र वास्तविक राजस्व असुलीबीचको दूरी निरन्तर बढ्दै गएको देखाएको छ । लक्ष्यसमेत घटाएर पठाइए पनि अपेक्षित राजस्व सङ्कलन हुन नसक्दा कार्यालयको कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा अर्थ मन्त्रालयले जलेश्वर भन्सार कार्यालयलाई एक अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो। तर कार्यालयले लक्ष्यभन्दा १८२ प्रतिशत बढी अर्थात् तीन अर्ब नौ करोड रुपैयाँ राजस्व उठाउँदै उल्लेखनीय सफलता हासिल गरेको थियो ।
त्यसपछि भने राजस्व सङ्कलन लगातार घट्दै गएको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ६३ करोड ९१ लाख रुपैयाँ लक्ष्य तोकिए पनि दुई अर्ब ८१ करोड ७३ लाख रुपैयाँ मात्र सङ्कलन भएको थियो, जुन लक्ष्यभन्दा करिब २२ प्रतिशत कम हो ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ७६ करोड २३ लाख रुपैयाँ लक्ष्य दिइएकोमा तीन अर्ब २५ करोड ९८ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष भारतीय लोकसभा निर्वाचनका कारण आयात–निर्यात प्रभावित हुँदा राजस्व घटेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ५३ करोड ६२ लाख रुपैयाँ लक्ष्य रहेकामा दुई अर्ब ६९ करोड ७६ लाख रुपैयाँ अर्थात् ५९.४७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।
राजस्वमा निरन्तर गिरावट आएपछि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य घटाएर करिब तीन अर्ब २६ करोड रुपैयाँ निर्धारण गरेको थियो । तर घटाइएको लक्ष्यसमेत पूरा हुन सकेन । भन्सार अधिकृत भरत अधिकारीका अनुसार चालु आर्थिक वर्षमा एक अर्ब ६४ करोड ९६ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ, जुन लक्ष्यको ५०.५५ प्रतिशत हो ।
भन्सार प्रमुख राजेन्द्र बस्नेतले जलेश्वर भन्सारको राजस्व घट्नुको मुख्य कारण पेट्रोलियम पदार्थको आयात बन्द हुनु रहेको बताए । उनका अनुसार भारतको बरौनी रिफाइनरीबाट आयात हुने पेट्रोलियम पदार्थले यसअघि कुल राजस्वको ५५ देखि ६० प्रतिशतसम्म योगदान पुर्याउने गरेको थियो ।
उनले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालन भएपछि जलेश्वर भन्सारबाट हुने पेट्रोलियम आयात क्रमशः घट्दै गएको बताए। सुरुमा पाइपलाइनमार्फत डिजेल मात्र आयात हुँदा असर सीमित रहे पनि २०८१ साल फागुनदेखि पेट्रोलसमेत पाइपलाइनमार्फत आउन थालेपछि जलेश्वर भन्सारबाट पेट्रोलियम आयात लगभग बन्द भएको र त्यसयता राजस्वमा तीव्र गिरावट आएको उनको भनाइ छ ।
बस्नेतका अनुसार आर्थिक वर्ष २०८२/८३ देखि कृषि अग्रिम कर खारेज गरिनुले पनि राजस्वमा थप असर परेको छ । साथै आन्दोलन, सीमाक्षेत्रमा हुने झडप, निर्वाचन, बर्खा, बाढी तथा भारतीय क्षेत्रमा हुने बन्द–हडतालका कारण आयात–निर्यात प्रभावित हुँदा राजस्व असुलीमा प्रत्यक्ष असर पर्ने गरेको कार्यालयले जनाएको छ ।