त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव (त्रिवि दिवस) को अवसरमा वीरगञ्ज नर्सिङ क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्याम्पसका प्रथम ब्याचका विद्यार्थी तथा वरिष्ठ चिकित्सक डा. रामअवतार खेतानले करिब पाँच दशकको इतिहास बोकेको नर्सिङ क्याम्पसले हालसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु दुःखद भएको बताए ।
उनले नर्सिङ जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संस्थाले आवश्यक पूर्वाधार र शिक्षण अस्पतालको अभावका कारण अपेक्षित विकास गर्न नसकेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय सुशीलकुमार कानु र रामाकान्त चौरसियाले क्याम्पसको समग्र विकासका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सांसदद्वयले क्याम्पसको भौतिक पूर्वाधार सुधार, पर्याप्त बजेट व्यवस्थापन तथा शिक्षण अस्पताल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास दिलाए ।
अन्तरक्रियापछि सांसदद्वय कानु र चौरसियाले क्याम्पसका भवन तथा शैक्षिक संरचनाको अवलोकनसमेत गरेका थिए । उनीहरूले देशकै नर्सिङ शिक्षाको इतिहाससँग जोडिएको यस क्याम्पसको संरक्षण, आधुनिकीकरण र विकासका लागि तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक आर्थिक तथा नीतिगत सहयोग जुटाउन पहल गर्ने बताए ।
क्याम्पस प्रमुख कल्पना पौडेलले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवन जीर्ण बन्दै गएको जानकारी दिइन् । उनले मरम्मतसम्भार तथा भौतिक पूर्वाधार विस्तारका लागि पर्याप्त बजेट अभाव हुँदा शैक्षिक वातावरणसमेत प्रभावित भएको बताउँदै ऐतिहासिक महत्व बोकेको क्याम्पसको संरक्षण, आधुनिकीकरण र आवश्यक संरचना निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा क्याम्पसका पदाधिकारी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।