सशस्त्र प्रहरी बल नेपालले बारा र पर्साका सीमा क्षेत्रमा खटिएका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ । साउन २९ गतेको निर्णयअनुसार बारामा एक जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित तीन जना नयाँ अधिकृतलाई विभिन्न सीमा सुरक्षा इकाइमा खटाइएको हो ।
निर्णयअनुसार डीएसपी विनोद श्रेष्ठलाई नं. १२ गण हेडक्वार्टर बारामा काजमा राख्दै सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वाको जिम्मेवारी दिइएको छ । भारतसँगको सीमासँग जोडिएको मटिअर्वा महत्वपूर्ण सीमा सुरक्षा क्षेत्रका रूपमा रहेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी निरीक्षक बद्री धरेललाई बीओपी कबहीगोठ र निरीक्षक सुरेन्द्रबहादुर मल्ललाई बीओपी गोलागन्जको नेतृत्वको जिम्मेवारी दिइएको छ । दुवै अधिकृतलाई नं. १२ गण हेडक्वार्टर बाराबाट काजमा खटाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी, नं. १२ गण हेडक्वार्टर बारामा कार्यरत निरीक्षक मुकेश प्याकुरेललाई पर्सा पठाइएको छ । उनलाई नं. १३ गण हेडक्वार्टर पर्साअन्तर्गत बीओपी भिष्वामा काजमा खटाइएको हो ।
सशस्त्र प्रहरी बलको मानवस्रोत विभागको निर्णयअनुसार नयाँ जिम्मेवारी पाएका अधिकृतहरूले भदौ ५ गतेभित्र सम्बन्धित कार्यालयमा पुगेर जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
सीमा क्षेत्रमा हुने चोरीपैठारी, अवैध गतिविधि तथा सीमा अपराध नियन्त्रणमा बोर्डर आउट पोस्ट (बीओपी) को भूमिका महत्वपूर्ण मानिन्छ । सीमा सुरक्षा प्रभावकारी बनाउन सशस्त्र प्रहरीले समय–समयमा सीमा क्षेत्रमा खटिएका अधिकृत तथा कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै आएको छ ।