वीरगंज–रक्सौल सीमानाका अन्तर्गत मितेरीपुलमा चेकजाँचका क्रममा एक क्विन्टलभन्दा बढी गाँजासहित दुई जना पक्राउ परेका छन् ।
आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा सीमा सुरक्षा बल (एसएसबी) र हरैया थानाका सुरक्षाकर्मीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद गरेका हुन् ।
प्रहरीका अनुसार गाँजा ठूलो–ठूलो बन्डलमा प्याक गरी भारतीय नम्बर प्लेटको बोलेरो गाडीमा विशेष रूपमा बनाइएको गोप्य खण्डमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । चेकजाँचका क्रममा शङ्का लागेपछि सुरक्षाकर्मीले बोलेरो गाडीको खानतलासी गर्दा गाडीभित्र लुकाइएको गाँजा बरामद भएको हो ।
गाँजा बरामद भएसँगै प्रहरीले बोलेरोमा सवार दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढका रञ्जन कुमार र मिश्र साह कानु रहेका छन् ।
प्रहरीले बरामद गाँजा, बोलेरो गाडी तथा पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ ।
सीमा क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले नियमित चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।