अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा मिरोज अहमदले केन्द्रीय सचिव (मुस्लिम) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक सेवामा सक्रिय अहमदले संगठनलाई प्रगतिशील सोच र उच्च प्रविधियुक्त प्रणालीमार्फत अघि बढाउने योजना प्रस्तुत गरेका छन् ।
उत्पादनशील शिक्षाको योजना
अहमदले शिक्षालाई उत्पादनशील क्षेत्रसँग जोड्दै उद्योग र रोजगार सिर्जना गर्ने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “शिक्षा, स्वास्थ्य, र रोजगारजस्ता संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन गराउन म पहल गर्नेछु ।”
संगठन सुदृढीकरणको प्राथमिकता
संगठनभित्र उच्च प्रविधियुक्त प्रणालीको विकास गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै अहमदले विद्यार्थीहरूको अधिकार, आत्मनिर्भरता, र नेतृत्व विकासमा जोड दिने नीति प्रस्तुत गरेका छन् । उनका अनुसार संगठनलाई समावेशी र प्रगतिशील बनाउनु अहिलेको आवश्यकता हो ।
मिरोज अहमदले राष्ट्रिय सम्मेलनलाई अवसरका रूपमा उपयोग गर्दै सबै विद्यार्थीलाई एकीकृत गर्ने, सकारात्मक सोच विकास गर्ने, र शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउँदै आफ्नो दृढता व्यक्त गरे । उनले भने, “राजनीतिलाई विवाद र आन्दोलनमा सीमित नराखी युवाहरूको क्षमता विकासमा केन्द्रित गर्नुपर्छ ।”