वीरगंजका सुनचाँदी व्यवसायी नीरज सर्राफ (मुन्ना सर्राफ) ले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
वीरगंज–९ पानगल्लीस्थित नीरज ज्वेलर्स प्रालिका सञ्चालकसमेत रहेका सर्राफले व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गरेका हुन् । उनले बिहीबार सिटिजन्स बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ जम्मा गरेका हुन् ।
विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएकाले पीडित परिवारलाई आफ्नो तर्फबाट थोरै भए पनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको सर्राफले बताए ।
उनले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएकाले आफूले सक्दो सहयोग गरेको उनको भनाइ छ ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा व्यवसायीले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन् ।
