काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ४२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ६०, नुवाकोटमा १ सय ९२, धादिङमा ६७, चितवनमा ३ सय ६०, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय ३० जना रहेका छन् ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३० वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । व्यवस्थापन गरिएका शवमध्ये २ सय २२ महिला, ३ सय ५५ पुरुष र ४ सय ५३ जनाको लिङ्ग पहिचान खुल्न नसकेको जनाइएको छ ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० तथा आफन्तका १ हजार १२ गरी कुल २ हजार २ सय ७२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । त्यस्तै, पहिचान हुन नसकेका १ हजार २ सय ७३ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार बाढीपछि हालसम्म ४ हजार ८ सय ८७ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार २ सय ४० जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्य गरिरहेको छ । बाढी तथा पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।