काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र तथा राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा आफ्नो सहयोग र समर्थन रहने तथा गलत कामको भने विरोध र आलोचना गर्ने आफ्नो नीति रहेको स्पष्ट पारे ।
उनले पछिल्लो राजनीतिक परिस्थितिले आफूहरूलाई सन्तुष्ट बनाउने अवस्था नरहेको संकेत गर्दै राज्यका विभिन्न निकायको भूमिकाका कारण परिस्थितिका ‘लक्षण राम्रो नदेखिएको’ टिप्पणी गरे ।
प्रचण्डले भने, “नेपाली राजनीति, कर्मचारीतन्त्र र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ। सुरुदेखि हामीले भन्दै आएका छौँ– राम्रो गर्नुस्, सहयोग र समर्थन हुन्छ। नराम्रो गर्दा आलोचना, टिप्पणी र विरोध हुन्छ। अहिले पनि हाम्रो यही भनाइ हो। तर लक्षण राम्रो देखिएको छैन ।”
पूर्वप्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सचेत नागरिकलाई राष्ट्र र जनताप्रति थप गम्भीर र जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
उनले राष्ट्रको स्वतन्त्रता, स्वाधीनता तथा भौगोलिक अखण्डतालाई सर्वोपरि राख्नुपर्नेमा जोड दिए। लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको संरक्षणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
“सबैभन्दा ठूलो कुरा राष्ट्र नै हो। हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र लामो संघर्षबाट प्राप्त स्वतन्त्रता तथा लोकतन्त्रको रक्षामा केन्द्रित हुन आवश्यक छ,” प्रचण्डले भने ।