काठमाडौं । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउने भएको छ ।
बाढी तथा पहिरोपछि उत्पन्न मानवीय संकट सम्बोधन गर्न राष्ट्रसङ्घले मानवीय सहायता साझेदार संस्थाहरूसँग उक्त रकमका लागि अपिल गरेको हो । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्याउने उद्देश्यले शुक्रबार अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरिएको राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको चार महिनाको योजनालाई सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ । विशेषगरी हिमाली तथा दुर्गम बस्तीमा हिउँद सुरु हुनुअघि देखिन सक्ने कठिनाइ र सरुवा रोगको जोखिम न्यूनीकरणमा सहयोग केन्द्रित गरिनेछ ।
योजनाअन्तर्गत प्रभावित परिवारलाई आवश्यकताअनुसार नगद सहयोग, अस्थायी आवासका सामग्री तथा विद्युत् पहुँच नभएका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराउने तयारी छ । क्षतिग्रस्त खानेपानी प्रणाली मर्मत, पानी शुद्धीकरण प्रणाली जडान तथा सरसफाइ सामग्री वितरणमार्फत पानीजन्य रोगको जोखिम घटाउने लक्ष्यसमेत राखिएको छ ।
त्यसैगरी घुम्ती स्वास्थ्य शिविरमार्फत उपचार तथा पोषण सहयोग, परिवारबाट छुट्टिएका बालबालिकाको संरक्षण तथा पुनर्मिलन, आकस्मिक खाद्य सहायता र बाढीबाट बाँचेका पशुधनको व्यवस्थापनमा समेत सहयोग गरिने राष्ट्रसङ्घले जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका धेरै बस्ती प्रभावित भएका छन् । बाढी तथा पहिरोले सडक, विद्युत्, खानेपानी र सरसफाइका संरचनामा ठूलो क्षति पुर्याउँदा दुर्गम क्षेत्रका नागरिक आधारभूत सेवाबाट समेत प्रभावित भएका छन् ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले सरकारको नेतृत्वमा हिउँद सुरु हुनुअघि सबैभन्दा दुर्गम प्रभावित बस्तीमा आश्रय, उपचार, स्वच्छ पानी र नगद सहयोग पुर्याउनु अपिलको मुख्य प्राथमिकता रहेको बताएकी छन् ।