सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादवसहित आठ जना पक्राउ परेको घटनाले पर्साको राजनीतिक वृत्तमा प्रश्न उठाएको छ ।
प्रहरीले शनिबार राति वीरगंजस्थित क्लार्क रिसोर्ट गण्डकमा रहेको गोल्डेन फिगर गेमिङ जोन प्रालिमा छापा मार्ने क्रममा यादवसहित आठ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्तिअनुसार गेमिङ जोनमा गरिएको कारबाहीका क्रममा गाउँपालिका अध्यक्ष यादवसहित आठ जना पक्राउ परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ । तर, जननिर्वाचित गाउँपालिका अध्यक्ष पक्राउ परेको विषयमा पर्साका अन्य स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलबाट अहिलेसम्म उल्लेखनीय औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
पर्सामा वीरगंज महानगरपालिकासहित तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा स्थानीय तह छन् । तीमध्ये एक गाउँपालिकाका निर्वाचित अध्यक्ष पक्राउ पर्दासमेत अन्य स्थानीय तहका प्रमुखहरूबाट सार्वजनिक धारणा नआउनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
आफ्नै सहकर्मी पक्राउ पर्दा जनप्रतिनिधिको मौनता किन ?
यादव पक्राउ परेपछि घटनाको वास्तविकता, पक्राउको आधार तथा अनुसन्धान प्रक्रियाबारे राजनीतिक दल र स्थानीय जनप्रतिनिधिबाट स्पष्ट धारणा आउनुपर्ने आवाज उठ्न थालेको छ ।
यादवको परिवारका तर्फबाट समेत घटनाबारे हालसम्म सार्वजनिकरूपमा औपचारिक धारणा आएको देखिँदैन । त्यस्तै, पक्राउ परेका यादव आबद्ध नेकपा एमालेले पनि अहिलेसम्म घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
निर्वाचित जनप्रतिनिधि पक्राउ पर्दा सम्बन्धित राजनीतिक दलले घटनाबारे जानकारी माग्ने, अनुसन्धान निष्पक्ष हुनुपर्ने धारणा राख्ने वा आफ्ना प्रतिनिधिको पक्षमा कानुनी प्रक्रियाबारे चासो व्यक्त गर्ने अभ्यास सामान्यतया देखिन्छ । तर यादवको पक्राउ प्रकरणमा एमालेको मौनताले भने थप प्रश्न जन्माएको छ ।
यादव पक्राउ परेको मात्र आधारमा उनलाई दोषी ठहर गर्न नमिल्ने कानुनी मान्यता छ । प्रहरीले अनुसन्धानका क्रममा संकलन हुने प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउनेछ भने अन्तिम निर्णय न्यायिक प्रक्रियाबाट हुने नै छ । यद्यपि, पक्राउको घटनालाई लिएर उठेको मुख्य प्रश्न राजनीतिक दल र जनप्रतिनिधिको मौनतामाथि केन्द्रित भएको छ । आफ्नै पार्टीका जननिर्वाचित अध्यक्ष पक्राउ पर्दासमेत एमालेले औपचारिक धारणा सार्वजनिक नगर्नुको कारणबारे राजनीतिक वृत्तमा चासो बढेको छ ।
घटनाबारे प्रहरीको अनुसन्धान अगाडि बढिरहेकाले थप तथ्य सार्वजनिक हुँदै जाँदा पक्राउको वास्तविक कारण र घटनाको कानुनी अवस्थासमेत स्पष्ट हुने अपेक्षा गरिएको छ ।