वीरगंज महानगरपालिकाको शिक्षा शाखामा जिम्मेवारी हेरफेरको विषयलाई लिएर विवाद चर्किएको छ ।
शिक्षा प्रमुख आनन्द लामिछानेले आफूले राजीनामा दिएको वा सरुवा भएको भन्ने समाचार गलत भएको स्पष्ट पारेका छन् । केही दिनअघि लामिछानेले राजीनामा दिएको तथा सरुवा भएको भन्दै विभिन्न माध्यमबाट समाचार सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन् । लामिछानेका अनुसार महानगरपालिकाले केही समयका लागि शिक्षा शाखाको जिम्मेवारी अन्य व्यक्तिलाई दिएको विषयलाई आधार बनाएर आफूले राजीनामा दिएको र सरुवा भएको गलत सूचना फैलाइएका थिए ।
लामिछानेले आफू अहिले पनि वीरगंज महानगरपालिकाको शिक्षा प्रमुख कै जिम्मेवारीमा रहेको र शिक्षा शाखासम्बन्धी नियमित काम गरिरहेको बताए । तर, आफूलाई जानकारी नै नदिई आफ्नो जिम्मेवारी अरूलाई दिइएको घटनाले भने आफू दुःखी भएको उनको भनाइ छ ।
यही कारण आफू केही समयदेखि आफ्नो कार्यकक्षको कुर्सीमा नबसेको उनले भने । यद्यपि, आफ्नो जिम्मेवारीबाट भने आफू अलग नभएको उनको दाबी छ ।
यसैबीच, वीरगंज महानगरपालिका–३१ का वडाध्यक्षले आफूलाई बदनाम गराउने प्रयास गरेको समेत लामिछानेले आरोप छ । सञ्चारमाध्यम मार्फत आफूलाई बदनाम गरिएको उनले गरे । तर, आफूविरुद्ध लगाइएका आरोपबारे थप प्रतिक्रिया दिन भने लामिछानेले अस्वीकार गरे ।
शिक्षा शाखाभित्र देखिएको यो विवादको प्रत्यक्ष असर महानगरपालिकाका विद्यालय तथा शिक्षा प्रशासनमा पर्न सक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा शिक्षा विकास तथा विद्यालय व्यवस्थापनका काम प्रभावित हुन थालेको स्थानीयको गुनासो गर्न थालेका छन् ।
शिक्षा क्षेत्रजस्तो संवेदनशील शाखामा नेतृत्व र जिम्मेवारीको विषयमा लामो समयसम्म अन्योल रहँदा विद्यालयका प्रशासनिक तथा शैक्षिक काम प्रभावित हुन सक्छ । महानगरपालिकाले शिक्षा शाखाको विवाद तत्काल समाधान गरी नियमित सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
महानगरपालिकाले भने शिक्षा प्रमुखको जिम्मेवारी र शाखाभित्र देखिएको विवादबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।