सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई राजनीतिक प्रतिशोधका कारण भ्रम, आरोप तथा प्रचारबाजीमार्फत फसाउने र चरित्रहत्या गर्ने प्रयास भइरहेको गोपाल सेवा समिति, पर्साले आरोप लगाएको छ ।
समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष जसवन्त यादवलाई वीरगंजस्थित कल्क रिसोर्टको बाथरुम परिसरमा बोलाएर योजनाबद्ध रूपमा फसाउने प्रयास भएको आशंका व्यक्त गरिएको छ । सोही घटनालाई आधार बनाएर यादवको व्यक्तिगत तथा राजनीतिक चरित्रहत्या गर्ने प्रयास भइरहेको समितिको दाबी छ ।
घटनासँग सम्बन्धित विषयमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत एकपक्षीय र तथ्यहीन सामग्री प्रचार–प्रसार गरी जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै समितिले गम्भीर आपत्ति जनाएको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि प्रतिस्पर्धाका नाममा कुनै जनप्रतिनिधिलाई योजनाबद्ध रूपमा फसाउने, व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने तथा सार्वजनिक जीवनमा असर पार्ने उद्देश्यले गलत सूचना वा भ्रामक भिडियो प्रयोग गर्नु निन्दनीय र आपत्तिजनक कार्य भएको उल्लेख गरिएको छ ।
गोपाल सेवा समितिले घटनाको सत्यतथ्य सम्बन्धित सुरक्षा निकाय तथा राज्यका जिम्मेवार निकायबाट निष्पक्ष र तथ्यमा आधारित छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेको छ । साथै, अपुष्ट आरोपलाई आधार बनाएर पूर्वाग्रही ढंगले प्रचार–प्रसार नगर्न पनि समितिले सबै पक्षलाई आग्रह गरेको छ ।
राजनीतिक प्रतिस्पर्धा, व्यक्तिगत पूर्वाग्रह तथा योजनाबद्ध चरित्रहत्या गर्ने प्रयासबाट लोकतान्त्रिक संस्कार र जनप्रतिनिधिको सम्मानमा प्रहार हुन नदिन सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा समितिले जोड दिएको छ ।
अध्यक्ष जसवन्त यादवको प्रतिष्ठा तथा जनताले दिएको जनादेशको सम्मान गर्दै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सम्बन्धित सबै पक्षसँग समितिले अपिल गरेको छ ।