अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दर्ता गराएको ठहर गर्दै एक व्यक्तिलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ ।
आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ निवासी दीपक पुन मगरलाई जरिवाना गरेको हो। उनले नेपाल प्रहरीका डीआईजीको नाम जोडेर एबी राई (आङबाबु राई) को नाम र हस्ताक्षर प्रयोग गरी आयोगमा उजुरी दर्ता गराएका थिए ।
उक्त उजुरीमा प्रहरीको डीआईजी पदको दुरुपयोग गरी सहकारीको ऋण तथा मुद्दा मिलाइदिने भन्दै रकम मागिएको र धम्की दिइएको उल्लेख थियो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको भनी सनाखत गरेका थिए ।
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुटो उजुरी दिएको ठहर भएपछि आयोगले दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको हो ।