राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि नगरपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको छ ।
पार्टीका महामन्त्री विपिन आचार्यले सामाजिक सञ्जालमार्फत नगरपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरिएको जानकारी दिएका हुन् ।रास्वपाले यस क्लबमार्फत देशभरका २७६ नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने जनाएको छ ।
पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट प्रक्रिया सुरु हुनेछ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने रूपरेखाअन्तर्गत क्लब सञ्चालनमा ल्याइएको आचार्यले बताएका छन् ।
‘यो नगरको माटोमा अपार सम्भावना छ तर यो नगरलाई अब अरूले बनाइदिन्छन् भनेर पर्खिने धैर्यता ममा छैन,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुनासो गर्ने भिडबाट निस्केर, आफैँ मैदानमा उत्रिएर काम गर्ने हुटहुटीले अचेल मलाई निदाउनै दिँदैन ।’
इमानदारिता, क्षमता र स्पष्ट योजनाका साथ आफ्नै पालामा नगरको काँचुली फेर्न चाहनेहरूका लागि यो अवसर हुन सक्ने उनको भनाइ छ । नगरपालिका क्यान्डिडेट क्लबमा आवेदन दिन इच्छुक व्यक्तिले रास्वपाको मोबाइल एपमा लगइन गर्नुपर्नेछ ।