नेपालमा जंगली हात्तीको मृत्यु बढ्दै जाँदा तिनको प्रजनन र संरक्षणमा गम्भीर चुनौती देखिन थालेको छ । असोज महिनामा मात्रै तीनवटा प्रजननयोग्य जंगली भाले हात्ती मारिएका छन्। यस वर्ष भदौ र असोजको अवधिमा मात्रै चारवटा भाले हात्तीको मृत्यु भएपछि संरक्षणकर्मीहरूले भविष्यमा हात्तीको प्रजननमा संकट आउन सक्ने चेतावनी दिएका छन् ।
२०८३ असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको चर्चित भाले हात्ती ‘रोनाल्डो’ वरण्डाभार क्षेत्रमा पर्ने बीसहजारी नजिकै नेपाली सेनाको पोस्टमा लगाइएको तार चपाउँदा करेन्ट लागेर मरेको थियो। सौराहास्थित हात्ती प्रजनन केन्द्रसँग जोडिएको रोनाल्डोको मृत्युले हात्तीको प्रजनन व्यवस्थापनमा समेत असर पर्न सक्ने विज्ञहरूको भनाइ छ ।
रोनाल्डोको मृत्यु भएको १५ दिनपछि असोज १८ गते सर्लाहीको बागमती नगरपालिका–४ स्थित ब्रह्मबाबा सामुदायिक वन नजिकै परबलबारीमा अर्को जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको थियो। हात्तीको सुँढलगायत शरीरका केही भागमा चोटपटक देखिएको थियो ।
त्यसको नौ दिनपछि उदयपुरको बेलका नगरपालिकामा ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती पनि मृत भेटियो। कोशी टप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको सीमावर्ती क्षेत्रमा धानबारीमा हात्ती मृत फेला परेको थियो। उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो।
यसअघि भदौ ३१ गते झापाको मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जंगलमा अर्को जंगली भाले हात्ती मृत भेटिएको थियो । यससँगै चालु वर्षको भदौ र असोजमा मात्रै चारवटा भाले हात्तीको मृत्यु भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा हात्तीको पारिस्थितिकीमा विद्यावारिधि गरेका डा. अशोककुमार रामका अनुसार गत वर्ष नौवटा जंगली भाले हात्ती मारिएका थिए। पछिल्लो १५ वर्षमा मानवीय कारणबाट ५८ वटा हात्ती मारिएको उनको भनाइ छ ।
डा. रामले भाले हात्तीको संख्या घट्दै जाँदा भविष्यमा प्रजनन प्रक्रियामै संकट आउन सक्ने चेतावनी दिएका छन् । एउटा भाले हात्तीले धेरै पोथी हात्तीसँग प्रजनन गर्ने भएकाले प्रजातिको संख्या वृद्धि र आनुवंशिक विविधता कायम राख्न तिनको महत्त्वपूर्ण भूमिका हुन्छ ।
‘हामीले सौराहामा प्रजनन केन्द्र त खोलेका छौँ, निजी हात्तीलाई पनि भाले हात्तीले प्रजनन गराउँछन्। मानौँ, एक दिन यी जंगली भाले हात्ती नै भएनन् भने प्रजनन केन्द्रको के अर्थ रहन्छ?’ डा. रामले प्रश्न गरेका छन् ।
उनका अनुसार विद्युतीय धराप र विषादी प्रयोग गरेर हात्ती मारिने घटनामा अधिकांश जंगली भाले हात्ती प्रभावित हुने गरेका छन् । किसानको बालीमा वन्यजन्तुले क्षति पुर्याउँदा दिइने राहत पर्याप्त र समयमै उपलब्ध नहुँदा पनि द्वन्द्व बढ्ने जोखिम रहेको उनले बताए ।
‘जंगली जनावरले खेती खाँदा १० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरिन्छ, तर क्षति धेरै भएको हुन्छ। त्यही १० हजार लिन पनि किसानको अरू खर्च हुन्छ,’ डा. रामले भने। उनले क्षतिको तत्काल मूल्याङ्कन गरी शीघ्र राहत दिने व्यवस्था गर्न सके किसानलाई विद्युतीय धराप थाप्नुपर्ने अवस्था कम गर्न सकिने धारणा राखे ।
संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार नेपालमा झन्डै दुई सयको हाराहारीमा रहेका हात्तीमध्ये बर्सेनि ११–१२ वटा मारिने गरेका छन् । यही क्रम जारी रहे भविष्यमा हात्तीको अस्तित्वमै संकट आउन सक्ने उनको चिन्ता छ ।
यता, झापामा अर्को एक जंगली हात्ती गम्भीर घाइते अवस्थामा रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र निकुञ्जका तर्फबाट त्यसको उपचारको व्यवस्था मिलाइएको छ । विभागका वरिष्ठ अनुसन्धान अधिकृत डा. गणेश पन्तका अनुसार हात्तीलाई डार्ट गरेर उपचार गर्न चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक तथा चिकित्सकको टोली पठाइएको छ ।
विज्ञहरूका अनुसार हात्तीले पुर्खादेखि प्रयोग गर्दै आएका जैविक मार्गमा अवरोध बढ्नु र मानवीय गतिविधि विस्तार हुनुले मानिस–हात्ती द्वन्द्व चर्किएको छ । लामो दूरीमा हिँडेर आनुवंशिक विविधता कायम राख्न भूमिका खेल्ने भाले हात्तीहरू बाली खान खेतमा पस्दा विद्युतीय धरापलगायतका जोखिममा पर्ने गरेका छन् ।
हात्तीको मृत्यु रोक्न संरक्षणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनसँगै किसानलाई समयमै उचित क्षतिपूर्ति, जनचेतना अभिवृद्धि र जैविक मार्गको संरक्षण आवश्यक रहेको संरक्षणकर्मीहरूले बताएका छन् । अन्यथा, भाले हात्तीको संख्या निरन्तर घट्दै जाँदा नेपालको हात्ती संरक्षण र प्रजनन व्यवस्थापन दुवै प्रभावित हुन सक्ने उनीहरूको चेतावनी छ ।