नेपालीहरूको महान् चाड दसैँमा मासु तथा विभिन्न परिकारको उपभोग बढ्ने भएकाले खानपानमा विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । विशेषगरी मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल तथा मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार खानपानमा ध्यान दिनुपर्नेमा चिकित्सकले जोड दिएका छन् ।
दसैँका बेला चिल्लो, पिरो र मसलायुक्त खानेकुराको मात्रा बढ्दा पाचन प्रणालीमा समस्या देखिन सक्छ । त्यसैले सन्तुलित भोजन गर्नुका साथै चिनीयुक्त परिकार र बढी बोसो भएका खानेकुराको सेवन नियन्त्रण गर्न आवश्यक रहेको चिकित्सकको सुझाव छ ।
एक वयस्क व्यक्तिका लागि दैनिक करिब १०० ग्राम मासु पर्याप्त हुन सक्ने बताउँदै चिकित्सकले स्वास्थ्य अवस्था र व्यक्तिगत आवश्यकताअनुसार खानाको मात्रा मिलाउनुपर्ने बताएका छन् । मासु खरिद गर्दा ताजा, सफा र स्वच्छ ठाउँबाट मात्र किन्न तथा बासी, दुर्गन्ध आएको वा चिपचिप परेको मासु प्रयोग नगर्न पनि सुझाव दिइएको छ । मासु घरमा ल्याएपछि सुरक्षित रूपमा फ्रिजमा राख्नुपर्छ ।
मासु पकाउँदा छाला र बोसो हटाउने, नुन तथा मसलाको मात्रा कम गर्ने र राम्ररी पकाएर खाने बानी स्वास्थ्यका लागि उपयुक्त मानिन्छ। अत्यधिक तेलमा तारिएका, डढाइएका तथा धुवाँमा सेकिएका बार्बीक्यु र सेकुवाजस्ता परिकारको सेवन कम गर्नुपर्ने चिकित्सकको भनाइ छ । कलेजो, गिदी, फोक्सो, मिर्गौला तथा आन्द्राभुँडीजस्ता भित्री अङ्गका परिकार पनि सीमित मात्रामा खानु उचित हुन्छ ।
चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
दसैँको समयमा खानपानमा गडबडी हुँदा पेट दुख्ने, पोल्ने वा असहज हुने समस्या देखिन सक्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्शबिना आफैँ एन्टासिड वा डाइक्लोफेनाक, नेप्रोक्सिन, आइबुप्रोफेन र एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्नु जोखिमपूर्ण हुन सक्छ ।
यस्ता औषधिको जथाभावी प्रयोगले पेटमा थप समस्या निम्त्याउन सक्ने र वास्तविक रोग पहिचान गर्न ढिलाइ हुन सक्ने चिकित्सकले बताएका छन् । पेट दुखाइको कारण खानपानमा असन्तुलन, लामो समय भोकै बस्ने, अत्यधिक पिरो तथा अमिलो खानेकुरा, धुम्रपान र मद्यपानलगायत हुन सक्छन्। त्यसैले समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ ।
एच पाइलोरी सङ्क्रमण पनि ग्यास्ट्राइटिसको प्रमुख कारण
ग्यास्ट्राइटिस अर्थात् पेटको भित्री तहमा हुने सूजनको प्रमुख कारणमध्ये एच पाइलोरी नामक ब्याक्टेरियाको सङ्क्रमण पनि एक हो। दूषित पानी, सरसफाइ नगरिएका फलफूल तथा सागसब्जी र सङ्क्रमित व्यक्तिसँगको सम्पर्कबाट यो ब्याक्टेरिया सर्न सक्छ ।
एच पाइलोरी सङ्क्रमणका अतिरिक्त मानसिक तनाव, पर्याप्त निद्रा नलिने बानी, दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोग, धुम्रपान, मद्यपान तथा अनियमित खानपानले पनि पेटसम्बन्धी समस्या बढाउन सक्छन्। लामो समय भोकै बस्ने वा एकैपटक धेरै खाने बानीले समेत पाचन प्रणालीमा असर पार्न सक्छ ।
दसैँमा स्वस्थ रहन सन्तुलित भोजनमा जोड
चाडपर्वमा स्वस्थ रहन मासुका परिकारसँगै हरियो सागसब्जी, ताजा फलफूल र दही सेवन गर्न तथा पर्याप्त मात्रामा स्वच्छ पानी पिउन चिकित्सकले सुझाव दिएका छन्। नियमित समयमा खाने र सुत्ने, धुम्रपान तथा मद्यपानबाट टाढा रहने र तनाव व्यवस्थापन गर्ने बानीले पनि स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ ।
दसैँको रमाइलोमा खानपानको सन्तुलन नबिर्सन र कुनै स्वास्थ्य समस्या देखिएमा समयमै चिकित्सकीय परामर्श लिन चिकित्सकले आग्रह गरेका छन् ।
डा. पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन्।