वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा बहागीदेखि मुशैली–रतनपुर जाने मुख्य सडकको पूर्वतर्फ निर्माण गरिएको नालाको निकास व्यवस्थापन हुन नसक्दा स्थानीयवासीले वर्षौंदेखि समस्या भोग्दै आएका छन्।
स्थानीयवासीका अनुसार करिब ९ वर्षदेखि नालाको निकासको विषयमा विवाद रहँदै आएको छ। नाला निर्माणमा लाखौँ रुपैयाँ खर्च भए पनि उचित निकासको व्यवस्था हुन नसक्दा समस्या समाधान हुन नसकेको उनीहरूको गुनासो छ।
स्थानीय सुवास यादवका अनुसार गाउँमा निर्माण गरिएका नालाहरूको समेत उचित निकासको व्यवस्था हुन सकेको छैन। नाला निर्माणमा बजेट खर्च भए पनि निकासको व्यवस्था नहुँदा स्थानीयवासीले अपेक्षित सुविधा पाउन नसकेको उनले बताए।
यादवले विगतमा मेयर विजयकुमार सरावगीको कार्यकालदेखि हालका मेयर राजेशमान सिंहको कार्यकालसम्म पनि उक्त समस्या समाधानका लागि प्रभावकारी पहल नभएको आरोप लगाए। उनका अनुसार वडा अध्यक्ष सूर्यजु महतो धानुक तथा यसअघिका जनप्रतिनिधिले समेत नालाको निकास व्यवस्थापन गर्न नसकेको स्थानीयको गुनासो छ।
“हामीले ९–१० वर्षदेखि विकासको अपेक्षा गर्दै आएका छौँ। नाला निर्माणमा लाखौँ रुपैयाँ खर्च गरिएको छ, तर निकासको व्यवस्था छैन। आफ्नै घरअगाडि नालाको निकासका विषयमा विवाद हुँदा पनि हामीले सास्ती भोग्नुपरेको छ,” स्थानीयवासीको गुनासो छ।
नालाको निकास व्यवस्थापन नहुँदा घरअगाडि पानीको निकास गर्ने विषयमा समेत विवाद उत्पन्न हुने गरेको स्थानीयको भनाइ छ। वर्षौँदेखि समस्या कायम रहँदा पनि समाधानका लागि ठोस पहल नभएको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
स्थानीयवासीले वीरगंज महानगरपालिका र वडा कार्यालयसँग नालाको निकाससम्बन्धी विवाद तत्काल समाधान गरी व्यवस्थित निकासको व्यवस्था गर्न माग गरेका छन्।