वीरगंज महानगरपालिका–२१ ताजपुरमा लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको धर्मशाला चार वर्ष बितिसक्दा पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।
सार्वजनिक बजेटबाट निर्माण गरिएको भवन प्रयोगविहीन बनेपछि खर्चको दुपयोगमाथि स्थानीयले प्रश्न उठाएका छन् । माननीय संसद प्रदिप यादव र तत्कालीन मेयर राजेशमान सिंहको पहलमा निर्माण गरिएको उक्त धर्मशालासम्म पुग्न सहज बाटोसमेत छैन ।
निर्माणका क्रममा अस्थायी रूपमा बाटो बनाइए पनि स्थायी र सहज पहुँचको व्यवस्था हुन नसक्दा भवन प्रयोगविहीन बनेको उनीहरूको भनाइ छ । धर्मशाला नजिकै खेलकुद मैदानसमेत रहेको छ। तर, मैदानको अवस्था दयनीय रहेको र युवाहरूले खेलकुद तथा मनोरञ्जनका लागि आवश्यक सुविधा पाउन नसकेको स्थानीय खेलाडीहरु गुनासो छ ।
सार्वजनिक प्रयोजनका लागि निर्माण गरिएका संरचनाको उचित व्यवस्थापन र उपयोगमा सम्बन्धित निकायले चासो नदिएको उनीहरूको आरोप छ ।
स्थानीय सीताराम पटेल अनुसार खेलकुद मैदानको प्रयोगका लागि धर्मशालाको चाबीसमेत वडा अध्यक्ष राधाकृष्ण रौनियारले उपलब्ध नगराएको आरोप लगाएका छन् । भवन प्रयोग गर्न नपाउँदा युवाहरूले खेलकुद गतिविधि सञ्चालन गर्न र सार्वजनिक संरचनाबाट लाभ लिन नसकेको उनको भनाइ छ ।
स्थानीयवासीले युवाहरूका लागि खेलकुद तथा मनोरञ्जनका सुविधा विस्तार गर्नुपर्नेमा निर्माण गरिएका संरचना नै प्रयोगविहीन अवस्थामा रहनु दुःखद भएको बताएका छन् । उनीहरूका अनुसार धर्मशालाको उचित उपयोग र खेलकुद मैदानको सुधारले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्न सक्छ ।
चार वर्ष बितिसक्दा पनि धर्मशाला सञ्चालनमा आउन नसक्नु र खेलकुद मैदानको अवस्था सुधार नहुनुले सार्वजनिक बजेटबाट निर्माण गरिएका संरचनाको व्यवस्थापनमाथि प्रश्न उठाएको छ । स्थानीयवासीले धर्मशालासम्म पुग्ने बाटोको व्यवस्था गर्न, भवन सञ्चालनमा ल्याउन र खेलकुद मैदानको सुधार गर्न वडा कार्यालय तथा महानगरपालिकासँग माग गरेका छन् ।