नेपालीहरूको प्रमुख पर्व बडादशैँमा पनि रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा विदेशिने नेपालीको क्रम रोकिएको छैन ।
दशैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीड देखिएको छ। विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवा छन्। यसबाहेक उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जानेहरू पनि उत्तिकै देखिन्छन्।
नेपाली समाजमा चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने परम्परा छ। तर, पछिल्ला वर्षहरूमा रोजगारी, आर्थिक अवसर र उज्ज्वल भविष्यको खोजीमा चाडपर्वकै समयमा पनि विदेशिने युवाको प्रवृत्ति बढ्दो देखिन्छ।
अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपालको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ। स्वदेशमै अध्ययन, पेसा तथा व्यवसाय गर्ने अवसरको खोजीभन्दा विदेशलाई प्राथमिकता दिने प्रवृत्तिका कारण गाउँघर रित्तिँदै गएको र खेतबारी बाँझो रहने समस्या पनि बढ्दै गएको छ।
रोजगारीका लागि विदेश जान लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए। योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चितता भएको भए दशैँको समयमा परिवार छाडेर विदेश जानुपर्ने अवस्था नआउने उनको भनाइ छ।
“योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दशैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु,” यादवले भने।
उनका अनुसार परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा तथा स्वास्थ्यमा सहज पहुँच, आर्थिक अवस्था सुधार र भविष्यका लागि बचत गर्ने उद्देश्यले नेपाली युवा विदेशिने गरेका छन्।
त्यस्तै, विमानस्थलमा भेटिएका गुल्मीका प्रकाश खत्रीले स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा युवा पुस्ता भविष्य निर्माणका लागि विदेश जान बाध्य भएको बताए। नेपालमा रोजगारीका अवसर सीमित हुनु, उपलब्ध काममा समेत पर्याप्त सेवा तथा सुविधा नहुनु र विदेशमा आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न सकिने अपेक्षाले युवालाई विदेशतर्फ आकर्षित गरेको उनको भनाइ छ।
“नेपालमा रोजगारीको अवसर नभएको, भए पनि सेवा सुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउनेभन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,” खत्रीले भने।
यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल पुगेका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग पुर्याए पनि देशभित्रको सक्रिय जनशक्ति विदेशिँदा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरे।
दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको भनाइ छ।
स्वदेशमै पर्याप्त रोजगारी, उचित पारिश्रमिक र सुरक्षित भविष्यको आधार तयार गर्न नसक्दा दशैँजस्तो पारिवारिक मिलनको पर्वमा समेत नेपाली युवा विदेशिनुपर्ने अवस्था देखिएको छ। यसले वैदेशिक रोजगारीबाट प्राप्त आर्थिक लाभसँगै देशको उत्पादन, जनशक्ति व्यवस्थापन र दीर्घकालीन विकासमा पर्ने प्रभावबारे पनि गम्भीर बहसको आवश्यकता औँल्याएको छ।