अमेरिकामा बसोबास गर्दै आएका एक व्यक्तिको नागरिकता विवरण प्रयोग गरी नक्कली पहिचान र सरकारी कागजात तयार पारेर काठमाडौंको जग्गा बिक्री गरेको प्रकरणमा १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि मुद्दा दर्ता भएको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार मुद्दा चलाइएकामध्ये चार जना फरार छन् भने काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर हाजिर जमानीमा छुटेका छन् ।
अनुसन्धानअनुसार अमेरिकामा बस्दै आएका सुमित अग्रवाल (अडुकिया) को काठमाडौं महानगरपालिका–१३, कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली पहिचान र कीर्ते सरकारी कागजात प्रयोग गरी बिक्री गरिएको थियो ।
नागरिकता विवरण प्रयोग गरी नक्कली पहिचान
प्रहरीका अनुसार वास्तविक जग्गाधनी सुमित अग्रवाल अडुकियाको नागरिकता विवरण प्रयोग गरेर अर्कै व्यक्तिको नक्कली पहिचान तयार पारिएको थियो। उक्त पहिचानका आधारमा राष्ट्रिय परिचयपत्र, स्थायी लेखा नम्बर (पान) र बैंक खाता खोलिएको अनुसन्धानबाट खुलेको छ ।
२०८२ पुस ७ गते राष्ट्रिय परिचयपत्र नम्बर ६२७-०९४-८९७-० का लागि आवेदन दर्ता गरिएको थियो । त्यसपछि कीर्ते कागजातका आधारमा २०८२ माघ १५ गते आन्तरिक राजस्व विभागबाट पान नम्बर १५५५८९९४८ लिइएको र ज्योति विकास बैंकमा खाता खोलिएको प्रहरीको भनाइ छ ।
सोही नागरिकता विवरण र कीर्ते राष्ट्रिय परिचयपत्रका आधारमा काठमाडौं महानगरपालिका–१३ को वडा कार्यालयबाट जग्गाको श्रेस्ता अद्यावधिक तथा घरबाटो प्रमाणितसम्बन्धी सिफारिससमेत तयार पारिएको अनुसन्धानमा उल्लेख छ ।
बिचौलियामार्फत जग्गा बिक्री
प्रहरीको अनुसन्धानअनुसार जग्गाधनी सुमित अग्रवालको काठमाडौंस्थित घरमा विश्वासपात्रका रूपमा बस्दै आएका राजन सिङ्घानियाले आफूलाई सुमितका भाइ अमित अग्रवालका रूपमा प्रस्तुत गरेका थिए। उनले सुमित अमेरिकाबाट भारत आइसकेको भन्दै नक्कली व्यक्तिसँग फोन सम्पर्क गराएर पहिलो खरिदकर्ता दीपककुमार अग्रवाललाई विश्वासमा पारेको आरोप छ।
राजनले मुस्ताफा आलम, वकील चौधरी थारु र मीनकुमार रोकामार्फत दीपककुमारलाई जग्गा देखाएका थिए। यस प्रकरणमा दीपककुमार अग्रवाल नै जाहेरवाला रहेको प्रहरीले जनाएको छ ।
२०८२ माघ २७ गते भूमि प्रशासन कार्यालय कलंकीबाट अम्बे भवानी कानुनी तथा लेखापढी सेवा केन्द्रका सञ्चालक राजाराम थापामार्फत कीर्ते लिखत तयार गरी नक्कली जग्गाधनी उपस्थित गराएर जग्गा दीपककुमारको नाममा राजीनामा पास गराइएको अनुसन्धानमा उल्लेख छ ।
उक्त कारोबारमा तीन प्रतिशत कमिसनबापत २६ लाख ८० हजार रुपैयाँको लेनदेन भएको बताइएको छ। प्रहरीका अनुसार बिचौलियाहरूले उक्त रकम बाँडफाँट गरेका थिए ।
दोस्रो खरिदकर्ताका कारण खुल्यो ठगी
पहिलो खरिदकर्ता दीपककुमार अग्रवालले जग्गा खरिद गरेपछि नाफा लिएर बिक्री गर्न दोस्रो खरिदकर्ता खोजेका थिए। संयोगवश दोस्रो खरिदकर्ता वास्तविक जग्गाधनी सुमित अग्रवालका साथी परे ।
जग्गा किन्नुअघि उनले सुमितसँग सम्पर्क गरेर सोधपुछ गरेपछि आफ्नो जग्गा कीर्ते कागजातका आधारमा बिक्री भएको सुमितले थाहा पाए। त्यसपछि पहिलो खरिदकर्ता दीपककुमारले पनि आफू ठगीमा परेको जानकारी पाएको अनुसन्धानमा उल्लेख छ ।
सरकारी कर्मचारीदेखि वडाध्यक्षसम्म अनुसन्धानको दायरामा
प्रहरीले यस प्रकरणमा बिचौलिया, लेखापढी व्यवसायी तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीको संलग्नता रहेको आरोपमा अनुसन्धान गरेको छ ।
मुद्दामा नाम जोडिएका व्यक्तिहरूमध्ये जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी पदकबहादुर थापा, राधिका ढुङ्गेल र रामराज पोखरेल, भूमि प्रशासन तथा मालपोत कार्यालय कलंकीका टीकाबहादुर कुँवर क्षेत्री, रोशन केसी, पूजा लामिछाने र ईश्वरबन्धु गौतमलगायत रहेका छन् ।
त्यस्तै, काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, वडा अधिकृत सुमनकुमार झा र कार्यालय सहयोगी सन्तबहादुर मानन्धरको नामसमेत प्रकरणसँग जोडिएको विवरणमा उल्लेख छ। वडाध्यक्ष मानन्धर हाजिर जमानीमा छुटेका छन् ।
मुख्य योजनाकार भनिएका राजन सिङ्घानिया फरार रहेको तथा चूडामणि पराजुली, रुद्रबहादुर वली र दीपकराज देवकोटासमेत फरार रहेको विवरणमा उल्लेख छ ।
प्रहरी अनुसन्धानपछि १९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको यस प्रकरणले जग्गा कारोबारमा नागरिकता, राष्ट्रिय परिचयपत्र, वडा कार्यालयको सिफारिस र मालपोतसम्बन्धी कागजातको दुरुपयोग कसरी हुन सक्छ भन्ने प्रश्न उठाएको छ। आरोपितहरूको दोष अदालतबाट प्रमाणित हुन भने बाँकी छ ।