काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् ।
प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाका अनुसार बिहीबार साँझ ८ बजे सुरु भएको टिकट बुकिङ साढे ८ बजे नै बन्द भएको हो ।
एनपीएल सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तथा प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ ।
उद्घाटन खेलको टिकट बुकिङ खुलेको छोटो समयमै टिकट सकिनुले प्रतियोगिताप्रति दर्शकको आकर्षण देखाएको छ ।