सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ निवासी सनिजा खातुनमाथि घरेलु हिंसा, कुटपिट र मानसिक यातना दिएको आरोपमा उनकी नन्द मरियम खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित सनिजा चार दिनदेखि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचाररत छिन् । पक्राउ परेकी मरियम खातुनमाथि ठगी तथा आपराधिक विश्वासघात मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेतका अनुसार बुधबार अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
पीडित सनिजाका अनुसार उनी आफ्ना श्रीमान मो. आकुबसँग विवाह गरेर तीन वर्षभन्दा बढी भइसकेको भए पनि विवाह दर्ता र नागरिकता प्रमाणपत्र अझै बनाएको छैन । कतारमा रहेका श्रीमानलाई फोनमार्फत विवाह दर्ता प्रक्रिया अघि बढाउन आग्रह गर्दा उल्टै रिसाउने र झुठो आरोपमा पारेर फोनमै “तलाक” दिने अवस्था आएको उनले बताएकी छिन् ।
सनिजाले मंसिर १९ गते गाउँको एक वैवाहिक कार्यक्रममा गएकी बेला उनकी नन्द मरियमले कोठामा रहेको दराज फुटाएर सुनको सिक्री, टिका, नथुनी, औंठी गरी करिब ५ तोला सुन र १० तोला चाँदीका गरगहना चोरी गरी लगेको आरोप लगाएकी छिन् । यसबारे उनले इलाका प्रहरी कार्यालय पातो हुँदै जिल्ला प्रहरी कार्यालयमा ठगी र आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् ।
काखे छोरासहित अस्पतालको आकस्मिक कक्षको १४ नम्बर बेडमा उपचाररत सनिजाले सासु आयशा खातुन र नन्द मरियम खातुनकै कारण आफू अहिलेको अवस्था पुगेको बताएकी छिन् । उनले भनिन्, “मेरो जीवन, मेरो सन्तानको अवस्था यिनै सासु–नन्दको कारण यस्तो भयो । श्रीमानलाई समेत यिनैले भ्रममा पा रे ।”
सम्बन्धीत समाचार
श्रीमानले दिए फोनबाट तलाक संघर्षरत महिला सासु–नन्दबाट कुटिएपछि अस्पताल भर्ना