श्रीमानले फोनमार्फत नौ महिनाअघि ‘तलाक’ दिएका एक महिला विवाहदर्ता र नागरिकता बनाउन संघर्षरत रहँदा थप पीडामा परेकी छन् ।
डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुर सिघिँयाकी २२ वर्षीया सनिजा खातुन आफ्नै सासु आयशा खातुन र नन्द मरियम खातुनबाट कुटिएर घाइते भएकी छन् । कुटपिटमा उनका दुई वर्षीय छोरा फैजानसमेत घाइते भएका छन् । सनिजा र उनका छोरा हाल गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । पीडितले कुटपिटमा संलग्न आफ्नै सासु र नन्दविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।
उनले विवाहपछि दर्ता प्रक्रिया अघि बढाउन आग्रह गर्दा परिवारबाट नै मानसिक र शारीरिक यातना पाएको बताएकी छन् ।
विवाहपछि लगातार हिंसाको शिकार
सनिजाको मो. आकुबसँग २०७८ साल चैत ८ गते मुस्लिम परम्परा अनुसार निकाह भएको थियो। श्रीमान् रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा छन् । विवाहपछि श्रीमान्ले विवाह दर्ता र सन्तानको जन्मदर्ता गराइदिन फोनमार्फत पटक–पटक आग्रह गर्दा झर्किने र ‘किन हतार गरेको’ भन्ने प्रतिक्रिया दिने गरेको सनिजाको भनाइ छ ।
चोरी र हिंसाको आरोप
सनिजाले मंसिर १९ गते आफन्तको विवाह समारोहमा गएका बेला नन्द मरियमले उनका सुनचाँदीका गरगहना चोरी गरेको आरोप लगाएकी छन् । उनले इलाका प्रहरी कार्यालय पातो हुँदै जिल्ला प्रहरी कार्यालयसम्म उजुरी दिएकी छन् । उजुरीमा ठगी र आपराधिक विश्वासघात अन्तर्गत कारबाही माग गरिए पनि हालसम्म दोषीमाथि कारबाही नभएको गुनासो गरेकी छन् ।
छोरीको पक्षमा आमाको संघर्ष
सनिजाकी आमाले अदालतमा अंश र मानाचामलको मुद्दा दायर गरेकी छन् । उनले फोनमार्फत दिइएको ‘तलाक’ फिर्ता गराउन र छोरीलाई सुरक्षित रूपमा श्रीमान्संग बस्ने वातावरण मिलाइदिन आग्रह गरेकी छन् । यद्यपि सासुले भने घरायसी झगडामा आफूलाई पनि चोट लागेको दाबी गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार वस्नेतले दुवै पक्षलाई झिकाएर अनुसन्धान भइरहेको र दोषी पाइए कानुनी कारबाही गरिने बताएका छन् ।
भिडियाे सामाग्री