नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२५ मा अन्तर्राष्ट्रिय र आन्तरिक दुवै हवाई आवागमन उल्लेखनीय रूपमा बढेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कुल ९७ लाख ७७ हजार २५६ यात्रुले सेवा लिएका छन् । तीमध्ये ५२ लाख ५१ हजार ८९७ जनाले अन्तर्राष्ट्रिय उडान तथा ४५ लाख २५ हजार ३५९ जनाले आन्तरिक उडानमार्फत यात्रा गरेका छन् ।
यस अवधिमा विमानस्थलबाट कुल १ लाख ३८ हजार १४५ उडान सञ्चालन भएका छन् । जसमा ३४ हजार ५९४ अन्तर्राष्ट्रिय र १ लाख ३ हजार ५५१ आन्तरिक उडान रहेका छन् । प्राधिकरणका अनुसार आगमन र प्रस्थान उडानको संख्या लगभग बराबर रहेको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फ सन् २०२५ मा यात्रु चाप उल्लेखनीय रूपमा बढेको देखिएको छ । नोभेम्बर महिना सबैभन्दा व्यस्त रहँदै पाँच लाखभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय उडानमार्फत आवागमन गरेका छन् ।
यस अवधिमा अन्तर्राष्ट्रिय उडानमार्फत करिब २ लाख ७९ हजार ५७२ टन कार्गो ढुवानी भएको छ भने ४६३ टनभन्दा बढी हुलाक (मेल) ओसारपसार भएको प्राधिकरणले जनाएको छ।
आन्तरिक हवाई सेवामा पनि उल्लेखनीय वृद्धि देखिएको छ । सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन भएका १ लाख ३ हजारभन्दा बढी आन्तरिक उडानमार्फत ४५ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सहप्रवक्ता ज्ञानेन्द्र भुलले यात्रु र उडान दुवै क्षेत्रमा देखिएको वृद्धिलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन् ।
‘अन्तर्राष्ट्रिय र आन्तरिक दुवै क्षेत्रमा यात्रु संख्या र उडान गतिविधि बढ्नु भनेको नेपालको हवाई यातायात प्रणालीप्रति जनविश्वास बढ्दै गएको प्रमाण हो । सीमित पूर्वाधारका बाबजुद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढ्दो चाप व्यवस्थापन गरिरहेको छ,’ भुलले कान्तिपुरसँग भने ।