बलिउड अभिनेता टाइगर श्राफको गाडीमा गोली प्रहार भएको घटनाबारे उनको टोलीले स्पष्टीकरण दिएको छ ।
अभिनेताले आफू ‘मानसिक आघातमा रहेको’ बयान मुम्बई प्रहरीको क्राइम ब्रान्चलाई दिएको भन्ने सञ्चारमाध्यममा प्रकाशित समाचारलाई उनका प्रवक्ताले खण्डन गरेका छन्। प्रवक्ताका अनुसार टाइगरले आफू मानसिक आघातमा रहेको भन्दै कुनै पनि बयान दिएका छैनन्।
एनडीटीभीले स्रोतलाई उद्धृत गर्दै टाइगरले क्राइम ब्रान्चसँगको कुराकानीमा आफू गहिरो मानसिक आघातमा रहेको र आफूमाथि ज्यानै लिने प्रयास कसले र किन गर्न खोजेको हो भन्नेबारे प्रश्न उठाएको समाचार प्रकाशित गरेको थियो। तर, उनका प्रवक्ताले उक्त समाचार पूर्ण रूपमा झूटो भएको दाबी गरेका छन् ।
यसअघि टाइगरको टोलीले सामाजिक सञ्जालमा फैलिरहेका भ्रमपूर्ण दाबी, कृत्रिम बुद्धिमत्ता ९एआई० बाट निर्मित भिडियो तथा कपोलकल्पित सामग्रीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको थियो ।
टोलीले टाइगर श्राफ र उनको आधिकारिक टोलीबाट सार्वजनिक हुने सूचनालाई मात्र विश्वास गर्न अनुरोध गर्दै भ्रामक समाचार तथा एआईबाट निर्मित सामग्री फैलाउनेविरुद्ध कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
टोलीले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालका पेज सञ्चालकलाई कुनै पनि सूचना प्रकाशित गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न आग्रह गरेको छ। भ्युज र आर्थिक लाभका लागि गलत सूचना सिर्जना गर्ने वा फैलाउने कार्य स्वीकार्य नहुने टोलीको भनाइ छ।
गत अक्टोबर १८ मा मुम्बईको जुहूस्थित एक फुटबल मैदानबाट बाहिरिने क्रममा टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको थियो। घटनामा दुई जना आक्रमणकारीले पाँचदेखि सात राउन्ड गोली चलाएको बताइएको छ।
गोली प्रहारका क्रममा टाइगरका चालक घाइते भएका थिए। चालकलाई गोली लागेपछि टाइगर आफैँले गाडी चलाएर अस्पताल पुगेका थिए।
घटनाको अनुसन्धान गरिरहेको मुम्बई प्रहरीले राजस्थान, उत्तर प्रदेश र हरियाणाबाट हालसम्म १० जना सन्दिग्धलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूसँग सोधपुछ गर्दै घटनामा संलग्न व्यक्तिको पहिचान र गोली प्रहार गर्नुको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।