कोलम्बो । श्रीलंका नजिकै हिन्द महासागरमा अमेरिकाले इरानको एक युद्धपोतलाई आक्रमण गरी डुबाएको जनाइएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनुसार उक्त घटनामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको छ ।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा रहेको अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडो प्रहार गरी डुबाएको पुष्टि गरेका छन् ।
श्रीलंकाली नौसेनाले घटनास्थलबाट ३२ जना घाइते नौसैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको जनाएको छ । उक्त जहाजमा करिब १८० नौसैनिक सवार रहेको बताइएको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
उक्त इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरनेशनल फ्लिट रिभ्यूमा सहभागी भई फर्कँदै गरेको बताइएको छ ।
श्रीलंकाली अधिकारीहरूले अल जजिरासँगको कुराकानीमा बुधबार बिहान करिब ६ देखि ७ बजे (भारतीय समय अनुसार) मद्दतका लागि सन्देश प्राप्त भएको बताएका छन् । जहाज दक्षिणी श्रीलंकाको गाले सहरबाट करिब ४० समुद्री माइल (झण्डै ७५ किलोमिटर) टाढा रहेको बेला उक्त घटना भएको जनाइएको छ ।