काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने को मुद्दामा अर्को तारेख तोकेको छ ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार वैशाख १४ गतेका लागि तारेख निर्धारण गरिएको हो । लामिछाने आइतबार तारेख बुझ्न अदालत पुगेका थिए ।
सहकारी ठगी प्रकरणअन्तर्गत काठमाडौंको स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा उनीविरुद्ध सुनुवाइ भइरहेको छ । उक्त प्रकरणमा ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन् ।
लामिछानेविरुद्ध ०८१ पुस २१ गते संगठित रूपमा सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
उनीसँग सम्बन्धित गोरखा मिडिया नेटवर्कमार्फत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट कानुनविपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगिएको आरोप छ ।
सरकारी वकिलले सोही रकम बराबरको बिगो माग दाबी गरेका छन् । हाल लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका छन् ।
लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।