जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषधसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–२ हर्दिया टोलका १८ वर्षीय राजेश पासमान र सोही नगरपालिका–३ कनकपुरका १६ वर्षीय मन्दिप विक रहेका छन् ।
प्रहरीका अनुसार सुरुङ्गा–३ लक्ष्मीपुरस्थित भित्री सडक खण्डमा सोमबार चेकजाँचका क्रममा भुसी महुलियाबाट लक्ष्मीपुर सिंहटोलतर्फ जाँदै गरेको स.७ प.१८०७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा लागुऔषध बरामद गरिएको हो ।
प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मोटरसाइकल चालक राजेशसँगै पछाडि सवार मन्दिप विकले बोकेको रातो प्लास्टिकको झोलाभित्रबाट करिब १५० ग्राम गाँजा र २४ पिस नाइट्राजेपाम ट्याब्लेट फेला परेको हो ।
बरामद लागुऔषध तथा मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।