जिल्ला प्रहरी कार्यालय पर्साकाे आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा कार्यसम्पादन प्रतिवेदनअनुसार जिल्लामा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धार तथा समुदायसँगको सहकार्यमा प्रहरीले विभिन्न गतिविधि सञ्चालन गरेको देखाएको छ ।
प्रतिवेदनले जिल्लामा पछिल्लो एक वर्षमा कुल १ हजार ८ सय १३ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको देखाएको छ । भने, बैंकिङ कसुर, अभद्र व्यवहार, लागुऔषध, ठगीलगायतका मुद्दा बढी देखिएका छन् ।
राजस्व चुहावट नियन्त्रणमा ६२ करोडभन्दा बढी योगदान
पर्सा प्रहरीले भन्सार छली, अवैध हुण्डी कारोबार, काठ तस्करी तथा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा समेत सक्रियता देखाएको प्रतिवेदनले पुस्ति गरेकाे छ ।
प्रहरीले भन्सार दाखिलामार्फत मात्रै ६२ करोड ९६ लाख ३२ हजार ६९ रुपैयाँ राजस्वमा योगदान पुर्याएको जनाएको छ । भने, राजस्व छलीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जसबाट ७२ वटा सवारी साधन नियन्त्रणमा लिइ कार्वाहि प्रकृया अगाडि बढाएको छ ।
यसैगरी अवैध हुण्डी कारोबार अनुसन्धानका क्रममा ५३ लाख २१ हजार ४६० रुपैयाँ नगद बरामद गरेको छ । भने हुण्डी कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरी मुद्दा चलाएकाे छ । यसैगरी यसबाट २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ रुपैयाँ बराबरको बिगो मागदाबी गरेकाे खुलेको प्रहरीले जनाएको छ । त्यस्तै, अवैध काठतर्फ ३५० क्युफिट काठ बरामद गरी १५ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भने अवैध बालुवा–गिट्टी उत्खननमा संलग्न ३६ वटा ट्र्याक्टर, २ वटा टिपर, १ वटा जेसीबी र ६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएकाे छ ।
१ हजार ८ सय १३ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी, फरार १ हजार ६० जना पक्राउ
आर्थिक वर्ष २०८२/०८३ मा पर्सामा विभिन्न शीर्षकमा १ हजार ८ सय १३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका ५ सय १ वटा मुद्दा रहेका छन् ।
त्यस्तै अभद्र व्यवहारका ३ सय ९० वटा, लागुऔषधका १ सय १९ वटा, ठगीसम्बन्धी १ सय ७ वटा, ज्यान मार्ने उद्योगका ६० वटा, डाँका तथा चोरीका ५९ वटा, कर्तव्य ज्यानका ११ वटा र साइबर अपराधका १७ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा १ सय २६ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४ हजार ८ सय ८७ जना फरार प्रतिवादीमध्ये १ हजार ६० जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाबाट ८ करोड ४२ लाख ९ हजार ४६७ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १८८ वर्ष १ महिना १७ दिन कैद सजाय कार्यान्वयन गरिएको छ ।
लागुऔषधसहित १६३ जना पक्राउ
पर्सा प्रहरीले आर्थिक वर्ष २०८२/०८३ मा ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार १९ सय ३३ किलो ८ सय ५४ ग्राम गाँजा, १ सय ३३ किलो ९४५ मिलिग्राम ब्राउन सुगर, २७३ किलो २९ ग्राम चरेसलगायत विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । लागुऔषध कारोबारमा संलग्न १ सय ६३ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
हातहतियारसहित १५ जना पक्राउ
प्रहरीले हातहतियार नियन्त्रण अभियानअन्तर्गत १५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाबाट ३ थान कटुवा पेस्तोल, १ थान रिभल्वर, ६ थान भरुवा बन्दुक, १ थान एयर गन तथा विभिन्न गोलीगट्ठा र विस्फोटक पदार्थ बरामद गरिएको प्रतिवेदनमा जनाएकाे छ ।
विपद्का १ सय ६२ घटना, १५ जनाको मृत्यु
समीक्षा अवधिमा जिल्लामा प्राकृतिक विपद्का १६२ वटा घटना भएका छन् । ती घटनामा १५ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन् ।
त्यस्तै, विपद्का कारण ९१ वटा चौपायाको मृत्यु र ११ वटा घाइते भएका छन् । भौतिक संरचनातर्फ ९ वटा पक्की घर, २०३ वटा कच्ची घर, १९ वटा गोठ, एउटा कुखुरा फर्म र दुई वटा उद्योगमा क्षति पुगेको छ । प्रहरी प्रतिवेदनअनुसार विपद्बाट कुल १० करोड ३४ लाख ७१ हजार ७ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
७२ वटा राजनीतिक गतिविधि, बन्द र चक्काजाम शून्य
आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न राजनीतिक दल तथा समूहबाट ७२ वटा विरोध, प्रदर्शन, धर्ना, तालाबन्दी र आमसभा भएका छन् ।
प्रहरीका अनुसार यस अवधिमा ३८ वटा जुलुस तथा विरोध र्याली, २२ वटा धर्ना, ७ वटा तालाबन्दी, ४ वटा आमसभा र २ वटा हडताल तथा तोडफोडका घटना भएका छन्। नेपाल बन्द र चक्काजामका घटना भने शून्य रहेको प्रतिवेदनमा उल्लेख छ । यस्ता गतिविधिका क्रममा शान्ति सुरक्षा कायम गर्न आवश्यक सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
महिला, बालबालिका र समुदायसँग प्रहरीको सक्रियता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवातर्फ घरेलु हिंसासम्बन्धी ८ सय ३८ वटा उजुरी र गालीगलौज तथा झैझगडासम्बन्धी १ हजार ३ सय ३ वटा निवेदनको शतप्रतिशत फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ । हराएका महिला तथा बालबालिकाको खोजतलास गरी ३ सय ५७ जनालाई फेला पारिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महिला हिंसा, लागुऔषध, बालविवाह, साइबर अपराध, विपद् व्यवस्थापन र जनचेतनामूलक विषयमा २ हजार १ सय ९७ वटा कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा ५८ हजार ५ सय ३९ जनाभन्दा बढी नागरिक सहभागी भएका थिए ।
ट्राफिक कारबाहीबाट १ करोड ५९ लाख राजस्व संकलन
यातायात व्यवस्थापनतर्फ ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ९०४ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
सवारी कारबाहीबाट प्रहरीले १ करोड ५९ लाख ६८ हजार ५०२ रुपैयाँ राजस्व संकलन गरेको प्रतिवेदनमा उल्लेख छ । समग्रमा, जिल्ला प्रहरी कार्यालय पर्साको वार्षिक प्रतिवेदनले अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिकसँगको सहकार्यमा प्रहरीको सक्रियता बढेको देखाएको छ ।
तर बैंकिङ कसुर र आर्थिक अपराधका घटना भने चुनौतीका रूपमा देखिएका छन् ।