वीरगंज नर्सिङ क्याम्पस अहिले गम्भीर वातावरणीय तथा स्वास्थ्य संकटबाट गुज्रिरहेको छ ।
मधेश प्रदेशकै एकमात्र सरकारी नर्सिङ क्याम्पसको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको नर्सिङ क्याम्पस अहिले फोहोरको दलदलमा परेकाे छ ।
डा. कल्पना पौडेल (क्याम्पस प्रमुख) वीरगंज नर्सिङ क्याम्पस ।
वीरगंज महानगरपालिका वडा नम्बर ४, बिर्तामा अवस्थित यस ऐतिहासिक क्याम्पसको परिसरभित्रै स्थानीय बस्तीको ढल र खुला फोहोर सिधै मिसाइएपछि शैक्षिक वातावरण, होस्टेल तथा समग्र क्याम्पस परिसर दुर्गन्धित र अस्तव्यस्त बन्न पुगेको हो ।
वि.सं. २०३२ सालमा सिएमी (CMA/AHW) कार्यक्रमबाट स्थापना भई वि.सं. २०४३ देखि प्रमाणपत्र तह ((PCL nursing)) सञ्चालन गरेको यस संस्थाले हाल स्नातक तहका बिएस्सी नर्सिङ र बिएनएस (BnS) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । देशका ७७ वटै जिल्लाबाट नर्सिङ शिक्षा हासिल गर्न आएका विद्यार्थीहरू अध्ययन गर्ने यस राष्ट्रिय गौरवको शैक्षिक संस्था अहिले भने वरपरका बस्तीबाट आउने ढलको निकास स्थलमा परिणत भएको छ ।
क्याम्पस प्रमुख डा. कल्पना पौडेलका अनुसार क्याम्पसको मुख्य समस्या नै बाहिरबाट क्याम्पस परिसरमा जबर्जस्ती मिसाइएको ढल निकास हो । उनका अनुसार “हामी आफैँ स्वास्थ्य क्षेत्रमा कार्यरत छौँ र दक्ष नर्सहरू उत्पादन गर्छौँ, तर आफ्नै क्याम्पसभित्रको वातावरण भने अत्यन्तै अस्वस्थकर र दुर्गन्धित बनेको छ ।” ढलको पानी निरन्तर जम्मा हुँदा क्याम्पसभित्रै ठूलो पोखरी बनेको छ, जसले गर्दा क्याम्पसको माटोको भारवहन क्षमता कमजोर भई दलदलमा परिणत भएको छ ।
जसका कारण नयाँ भवन निर्माणका लागि गरिएको माटो परीक्षणमा समेत गम्भीर जोखिम देखिएको क्याम्पस प्रशासनले जनाएको छ ।
रामराज महतो (कर्मचारी)
क्याम्पसको सुरक्षा पर्खाल फुटाएर स्थानीय क्षेत्रको बाक्लो ढलको पाइप क्याम्पसको मुख्य आवतजावत गर्ने बाटैमा खसालिएको छ । क्याम्पसका कर्मचारी रामराज महतोका अनुसार दैनिक सयौँ विद्यार्थी, शिक्षक तथा स्थानीय बटुवा हिँड्ने सडकमाथिबाटै सिधै ढल र फोहोर पानी खस्ने गरेको छ । “मेयरसाब’को गाडी आउँदा समेत माथिबाट फोहोर पानी खनिएको अवस्था छ, बारम्बार सफा गरे पनि स्थानीय बासिन्दाले फेरि त्यहीँ फोहोर फालिदिन्छन्,” महतोले दुखेसो पोखे ।
ढलको दलदलका कारण क्याम्पसको होस्टेल र क्यान्टिन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । क्याम्पसकी सहायक प्राध्यापक एवं होस्टेल वार्डेन अञ्जु कुमारी महतोका अनुसार खुला ढलका कारण होस्टेलभित्र ठूला–ठूला मुसा, साङ्ला र सर्पको बिगबिगी बढेको छ । “विद्यार्थीहरू दुर्गन्धका कारण तल्लो तलामा बस्नै मान्दैनन्, खाना खाने क्यान्टिन र कोठासम्मै किरा–फट्याङ्ग्रा पुग्दा विद्यार्थीहरू निरन्तर बिरामी पर्ने गरेका छन्,” अञ्जुको भनाई थियो । क्यान्टिन सञ्चालक हिक्मत रोकाहाले पनि दुर्गन्ध र लामखुट्टे–मुसाको आतंकले क्यान्टिन सञ्चालन गर्नै नसक्ने अवस्था आएको गुनासाे गरेका छन् ।
अञ्जु कुमारी महतो (होस्टेल वार्डेन)
क्याम्पसकी उपप्राध्यापक रुबी साहका अनुसार यस्तो फोहरले क्याम्पसको शैक्षिक गरिमा, सौन्दर्य र नयाँ भर्ना हुन आउने विद्यार्थीहरूको आकर्षणमा नकारात्मक प्रभाव पारेको छ ।
रुबी साह (उपप्राध्यापक)
त्यसैगरी बिएनएस दोस्रो वर्षकी विद्यार्थी रागिनी यादवको भनाइ अनुसार, ढलमा फ्याँकिएको स्यानिटरी प्याडदेखि घरायसी फोहोरसमेत क्याम्पस परिसरमा जम्मा हुने गरेको छ । यसको दुर्गन्ध हावा चल्दा र पानी पर्दा झन धेरै फैलने हुँदा समस्यामा पर्ने गरेको छात्रा यादवले बताइन् ।
रागिनी यादव (विद्यार्थी)
रागिनी यादव (विद्यार्थी)
क्याम्पस परिसरको फोहोरलाई माटोले छोपिदिए मात्रै पनि दुर्गन्ध न्युनिकरण हुन सक्ने क्याम्पस प्रशासन प्रमुख श्रेष्ठ नारायण चौधरीको सुझाव छ । यसो भए तत्कालिक दुर्घन्धको सकस कम हुने र वातावरणमा सुधार हुनसक्ने प्रशासन प्रमुख चौधरीले बताए ।
श्रेष्ठ नारायण चौधरी (क्याम्पस प्रशासन प्रमुख)
महानगरपालिका, वडा कार्यालय र सम्बन्धित निकायमा पटक–पटक लिखित पत्राचार र प्रत्यक्ष भेटवार्ता गर्दा पनि आश्वासनबाहेक कुनै ठोस निकास ननिस्किएको क्याम्पस परिवारको गुनासो छ । कानुनविपरीत अर्काको शैक्षिक हाताभित्र ढल मिसाउने कार्य तत्काल रोक्न र दीर्घकालीन ड्रेनेज व्यवस्थापन गरिदिन क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले स्थानीय सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेका छन् ।
जगत साह कानू,वडा अध्यक्ष (वडा नं. ४)
हामी गर्छौ क्याम्पसले पनि गर्नुपर्छ – जगत साह कानू,वडा अध्यक्ष (वडा नं. ४)
यस सम्बन्धमा नर्सिङग क्याम्पस रहेको वीरगंज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानूुले क्याम्पसको स्वस्थ्य र सुरक्षा व्यवस्था प्रति आफुहरू सम्बेदनशिल रहेको बताएका छन् । क्याम्पस आसपास क्षेत्रमा केही पहिले मात्रै पक्की नाला बनेको र केही स्थानमा माटो भर्ने काम समेत भएको भन्दै पक्की नालामा ढक्कन राख्नु पर्ने र लम्बाई अझ बढाउनु पर्ने अवस्था देखिएमा आगामी आर्थिक बर्षमा हुन सक्ने बताए । क्यम्पसको सुरक्षादेखि हरेक कामहरूमा समेत वडाले सहयोग र सहजीकरण गरिरहेको दाबी उनले गर्दै क्याम्पस परिसर भित्रको झाडी तथा परिसर भित्रैबाट उत्सर्जित फोहरहरू व्यवस्थापनमा क्याम्पस आफैले पनि सक्रियता देखाउनुपर्ने बताए ।
स्वास्थ्यकर्मी उत्पादन गर्ने जस्तो संवेदनशील र गरिमामय शैक्षिक संस्थाभित्रै स्वास्थ्यको गम्भीर संकट देखिनु विडम्बनापूर्ण हो । क्याम्पसको हाताभित्र कानुनविपरीत मिसाइएको ढल रोक्न र दीर्घकालीन ड्रेनेज व्यवस्थापन गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरुरी छ ।