

वीरगंजमा सामान्य वर्षा हुँदा पनि केही स्थानका सडकमा पानी जम्ने समस्या हुन् थालेको छ । बुधबार परेको हल्का वर्षापछि वीरगंज महानगरपालिका–११ मुर्ली चोक क्षेत्रमा सडकमा पानी जमेको हो ।
पानीको उचित निकास नहुँदा वर्षाको पानी सडकमा जम्ने गरेको छ । सामान्य वर्षामै सडकमा पानी जम्दा पैदलयात्री तथा सवारीसाधनको आवतजावतमा समेत समस्या हुने गरेको स्थानीयवासीले बताएका छन् ।
स्थानीयका अनुसार नालाको नियमित रूपमा सरसफाइ नहुँदा पानीको निकास सहज हुन सकेको छैन । नाला सफा नगर्दा थोरै वर्षा हुँदा पनि सडकमा पानी जम्ने गरेको उनीहरूले आरोप लगाएका छन् ।
वडा अध्यक्षको घर जाने बाटोमै सामान्य वर्षा हुँदा सडकमा पानी जम्नु दुःखद् भएको स्थानीयहरुले बताए । उनीहरुका अनुसार जनप्रतिनिधिको घर जाने बाटोमै यस्तो अवस्था देखिनुले समस्या समाधानमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताएका छन् ।
स्थानीयवासीले वडा कार्यालय तथा महानगरपालिकाले नालाको उचित व्यवस्थापन र नियमित सरसफाइमा ध्यान नदिँदा समस्या बढेको आरोप लगाएका हुन् ।
उनीहरूले वर्षायाममा हुने जलजमावको दीर्घकालीन समाधानका लागि नालाको नियमित सरसफाइसँगै पानीको प्रभावकारी निकासको व्यवस्था गर्न वीरगंज महानगरपालिकासँग माग गरेका छन् ।