सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहितको रिहाइको माग गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापनपत्र बुझाउँदै जसपाले ८ चैतमा छलफलका लागि बोलाइएका अध्यक्ष यादव, पूर्व वडाध्यक्ष दिलीप यादवलगायतलाई कुनै पूर्व जानकारी बिना थुनामा राखिएको आरोप लगाएको छ । जसपा नेपाल सिराहा जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षजस्तो सम्मानित पदमा रहेका जनप्रतिनिधिलाई अन्यायपूर्वक थुनामा नराख्न माग गरिएको छ ।
प्रहरीले उनीहरू सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिएको भन्दै जसपाले यसलाई मानवअधिकार उल्लंघनको संज्ञा दिएको छ ।
रिहाइ नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको जसपाले आगामी जेठ १७ गतेबाट हुने विष्णु महायज्ञको लागि गत फागुन १० गते गाउँपालिका अध्यक्ष यादवसहितले स्थानीय दीपक मरिक डोमको घर भत्काएको बताएको छ ।
यसैबीच, प्रहरीले गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई शुक्रबार पक्राउ गरेको थियो। शनिबार जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गरिएको छ भने सिराहा जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।