जनकपुरधाम । धनुषामा एक युवकको विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा फेला परेको छ ।
प्रहरीका अनुसार उनको शव शुक्रबार साँझ रेलवे ट्रयाकबाट करिब १०० मिटर दक्षिणतर्फ भेटिएको थियो । शनिबार मात्र उनको सनाखत भएको हो। शवको अवस्था हेर्दा हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले शवको प्रकृति हेर्दा विभत्स हत्या भएको देखिएको बताए । शिवशंकरको नग्न अवस्थामा रहेको शवमा खुकुरी प्रहारको गहिरो घाउहरू देखिएको छ भने मुखमा आगो लगाइएको जस्तो देखिन्छ ।
स्थानीयका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना महतो, १० महिने छोरा सहित ससुराली जान घरबाट निस्किएका थिए। महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेपछि श्रीमतीले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा श्रीमती सृजना छोरा सहित चढेकी थिइन् भने अर्कोमा शिवशंकर सवार थिए ।
तर, परिवारले उनी ससुराली पुगेको ठानेका थिए । शुक्रबार महोत्तरी प्रहरीले शव पहिचानका लागि परिवारलाई बोलाएपछि मात्रै शिवशंकरको हत्या भइसकेको पत्ता लागेको थियो ।
शिवशंकरका भाइ राम महतोका अनुसार केही दिनअघि ससुरालीमा विवाद हुँदा उनी कुटिएका थिए। त्यसपछि उनी ससुराली जान मानेका थिएनन्, तर श्रीमतीले हजुरबुबाको मृत्यु भएको भन्दै उनलाई जान बाध्य बनाएको भाइ रामको दाबी छ ।
मृतकका परिवारले घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ भने घटनाको वास्तविकता छिट्टै बाहिर आउने आश्वासन दिएको छ ।