बारा | कानुन बमोजिम इजाजत नलिएका वा इजाजतको नवीकरण नगरेका हातहतियार एक साताभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय बाराले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आइतवार विज्ञप्ति जारी गर्दै कानुनी प्रक्रिया पूरा नगरी राखिएका हातहतियार तुरुन्त बुझाउन आग्रह गर्नुभएको हो।
विज्ञप्तिमा इजाजतप्राप्त व्यक्तिको मृत्युपछि हकवालाको नाममा नामसारी नभएका, नवीकरण नगरिएका वा इजाजत नै नलिएर राखिएका हतियार नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने उल्लेख छ।
प्रशासनले दिएको समयमा हतियार नबुझाएमा इजाजत बिना हतियार राख्ने व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। जिल्लामा अवैध हतियारको प्रयोगबाट अपराधिक गतिविधि बढ्न सक्ने देखिएकाले नियन्त्रणका लागि प्रशासनले कडाइ गरेको जनाइएको छ।