काठमाडौं । प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा इरानको टोली विजयी बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानी टिमले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा इरानले २५–२० को स्पष्ट जित निकालेको थियो । दोस्रो सेटमा भने एपिएफले कडा चुनौती दिंदै ३१–२९ ले जित हात पार्यो । तेस्रो सेटमा इरानी टोलीले २५–२३ को जित दर्ता गरेपछि अन्तिम सेटमा २५–१९ ले जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । प्रतियोगितामा ६ टोली सहभागी छन् ।
समूह ‘ए’ मा इरान, एपिएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारत, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
विजेता टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो हुनेले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ ।