पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा पर्सा प्रहरीले एकैदिन १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबै प्रतिवादीहरूलाई जिल्ला अदालत पर्सामा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले दिएको जानकारीअनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अदालतले पूर्वमा नै कैद वा जरिवानाको सजाय तोकेको थियो तर उनीहरू लामो समयदेखि फरार थिए ।
फैसला कार्यान्वयन गर्ने उद्देश्यले पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरुद्वारा गठन गरिएको ‘कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोली’ को सक्रियतामा यो अपरेशन गरिएको हो । टोलीले विभिन्न स्थानमा लुकीछिपी बसेका व्यक्तिहरूलाई विशेष सूचनाको आधारमा पहिचान गरी पक्राउ गरेको हो ।
प्रवक्ता लम्सालका अनुसार, पक्राउ परेका प्रतिवादीहरूमा विभिन्न प्रकृतिका मुद्दा रहेका छन्—जस्तै ठगी, चेक बाउन्स, सार्वजनिक अपराध, घरेलु हिंसा, चोरी, ज्यान मार्ने उद्याेग, अवैध कारोबार र यस्तै अन्य सामान्यदेखि मध्यम प्रकृतिका मुद्दाहरूमा दोषी ठहर भई फरार रहेका थिए ।
पर्सा प्रहरीले अदालतको आदेश कार्यान्वयनलाई प्राथमिकतामा राख्दै समय–समयमा विशेष अपरेशनमार्फत फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै आएको छ । यसअघि पनि प्रहरीद्वारा विभिन्न अपरेशनमार्फत दर्जनौँ फरार प्रतिवादीहरू पक्राउ परेका थिए ।
डिएसपी लम्सालका अनुसार, “कानुनको शासन कायम गर्न अदालतको फैसला कार्यान्वयन अनिवार्य हुन्छ । फरार रहेका दोषीलाई पक्राउ गरी अदालतमा बुझाउनु न्यायिक प्रक्रियाको अभिन्न हिस्सा हो । यो अभियान आगामी दिनमा अझ सशक्त बनाइनेछ ।”
प्रहरीले फरार प्रतिवादीबारे जानकारी भएमा नजिकको प्रहरी इकाइमा खबर गर्न स्थानीयवासी तथा समुदायलाई अनुरोध समेत गरेको छ ।