जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु हुनासाथ जसपा नेपालका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगनको घोषणा गरेका हुन् । बैठक अब जेठ २२ गते दिउँसो १ बजे बस्नेछ ।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानविन समिति गठन गर्ने घोषणा गरे पनि कार्यान्वयन नभएकोप्रति गम्भीर आपत्ति जनाए ।
उनले सभामुखलाई सम्बोधन गर्दै भने, “सरकारद्वारा जुन गडबडी हुन्छ, आर्थिक अनुशासनको उल्लङ्घन हुन्छ, त्यसको नियन्त्रण गर्ने काम हो सदनको। त्यसैले सर्वदलीय सहमतिबाट संसदीय छानविन समिति गठन गर्ने निर्णय पनि तपाईंको अध्यक्षतामै भएको हो । प्रतिपक्षले समितिका लागि नाम दिइसकेको छ तर सत्तापक्षले दिन चाहेको छैन। यसले स्पष्ट देखाउँछ—सरकार सदनप्रति उत्तरदायी छैन।”
उनले संसदीय छानविन समिति गठन नभएसम्म बैठक अवरुद्ध गरिरहने चेतावनीसमेत दिए ।
सभामुख मण्डलले करिब तीन घण्टा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको जानकारी दिए। अब औपचारिक र अनौपचारिक छलफलपछि मात्रै टुंगो लगाइने उनले स्पष्ट पारे ।