सडक निर्माणको बैंक ग्यारेन्टी रकम एकलरूपमा झिकिएको आरोपमा रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१४ का स्थायी बासिन्दा महतो हाल काठमाडौंको सिफलचौरमा बसोबास गर्दै आएका थिए । मंगलबार उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धानका लागि धनुषा पठाएको छ ।धनुषा जिल्ला प्रहरी कार्यालयका एसपी नरहरि रेग्मीका अनुसार, महतोमाथि दिगहवा–लोखरम सडक निर्माण प्रकरणमा ठगीसम्बन्धी उजुरी परेपछि जिल्ला अदालत धनुषाले जेठ ६ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सडक निर्माणको ठेक्का रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिले संयुक्त रूपमा पाएका थिए । तर, एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवका अनुसार, साझेदार कम्पनीलाई जानकारी नदिई रमण कन्स्ट्रक्सनले ९ करोड २१ लाख र ८ करोड ९७ लाख रुपैयाँको बैंक ग्यारेन्टीसहित एडभान्स पेमेन्ट वापतको २ करोड ६७ लाख रुपैयाँसमेत झिकेको आरोप छ ।
ग्यारेन्टी रकम काठमाडौंको चाबहिलस्थित एक बैंक शाखाबाट रमण महतोको हस्ताक्षरमा निकालिएको उल्लेख गरिएको छ। यही आरोपका आधारमा पवन महतो पक्राउ परेका हुन् ।यसै प्रकरणमा पवन महतोका बुवा बलराम महतो र दाजु रमण महतोमाथि पनि पक्राउ पुर्जी जारी भएको छ, तर उनीहरू हाल फरार छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, महतो पक्राउ परेपछि मंगलबार नै धनुषा पठाइएको हो। अनुसन्धान अहिले धनुषा प्रहरीको समन्वयमा अघि बढाइएको छ । रमण कन्स्ट्रक्सन यसअघि पनि धरहरा पुनर्निर्माणको ठेक्काका कारण विवादमा तानिएको थियो ।
भिडियाे सामाग्री