सर्लाहीको बागमती नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बेलुका मोटरसाइकल र कन्टेनर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
बुधबार राति करिब ९:२० बजे प्रदेश ३–०३–०१ ख ००७० नम्बरको कन्टेनर र डिब्बा गाडीले प्रदेश ३–०२–०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई बागमती पुल नजिक ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–१, पौराही टोलका २१ वर्षीय गोपाल योन्जनलाई तत्काल मोडेल अस्पताल बागमतीमा उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । तर, राति ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।