बाँकेमा सादा पोशाकमा खटिएका प्रहरीहरू व्यवसायीसँग रकम असुलेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले ३ जना सुरक्षाकर्मीसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । कोहलपुरस्थित थ्रिस्टार मोबाइल पसलका सञ्चालकले प्रहरीहरूबाट जबरजस्ती ५ लाख रुपैयाँ असुली गरिएको भन्दै उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् ।प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरी बलका जवान रामसुन्दर चौधरीमाथि मोबाइल पसलमा लागुऔषध राखिएको आरोप लगाएर मुद्दा फसाइदिने धम्की दिँदै रकम असुली गरेको आरोप लागेको छ।
मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र पत्रकार सूर्यप्रसाद रिजालले समेत घुमुवासँग मिलेमतो गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको इप्रका कोहलपुरका डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । उनीहरूले यही जेठ २१ गते जानकी गाउँपालिका–६ स्थित एक खाजा पसलमा ५ लाख रुपैयाँ नगद लिएको तथ्य सीसीटीभी फुटेजमार्फत पुष्टि भएको छ। पैसा लिन उनीहरू भारतीय नम्बर प्लेट (UP 50 AA 9885) भएको गाडीमा आएको व्यवसायीको भनाइ छ ।
डीएसपी खनालका अनुसार डर र धम्की देखाई आपराधिक लाभ लिन खोजेको ठहरसहित तीनजना घुमुवासँगै अन्य दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरिएको छ ।