बाराको कलैया उप–महानगरपालिका वडा नं. १४ बघवनका ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिटबाट मृत्यु भएको छ ।
पुरानो रिसिवीका कारण सोही ठाउँका ४० वर्षीय उमेश जैसवालसहित ६ जनाले मिलेर कुर्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइते अवस्थामा कुर्मीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारामा लगिएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
घटनापछि अनुसन्धान अघि बढाउँदै प्रहरीले संलग्नमध्ये २८ वर्षीय दिगम्बर साह कलवारलाई घटनाको दिन नै पक्राउ गरेको थियो । उनलाई ज्यानसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
अन्य फरार रहेका तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं. ५ स्थित सागर लामिछानेको घरमा लुकिरहेका एक महिला र वीरगञ्ज महानगरपालिका वडा नं. १ शान्ती टोलस्थित बसिर मियाँको घरमा लुकेर बसेका दुई पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका व्यक्तिहरुमा घटनाका मुख्य अभियुक्त उमेश जैसवालकी ३८ वर्षीया श्रीमती रन्जु जैसवाल, उनका २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय छोरा सुजितकुमार जैसवाल रहेका छन् ।
पक्राउ परेकामाथि बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्य फरार अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।