पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्डमा आवतजावत ठप्प भएको छ । विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे भएपछि नारायणगढ–बुटवल सडक खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थिति भोगिरहेका छन् ।
बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुहरूलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले भने, “मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो ।”
शिवनारायण थारु नाम गरेका एक यात्रु पौडिँदै खोलाबाट ज्यान जोगाउन सफल भए । “त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,” उनले बताए ।
सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् भने सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जंगलबीच खाना, पानी र शौचालयको सुविधा नहुँदा समस्या झनै बढेको छ । सडकमा अलपत्र परेका मालवाहक गाडीहरूले आपूर्ति प्रणालीसमेत प्रभावित भएको छ ।
दाउन्ने क्षेत्रमा यात्रुको पीडा देखेर स्थानीय युवा, व्यवसायी र सामाजिक संस्थाले शुक्रवार निःशुल्क खाना वितरण गरेका छन् । दुम्कीवासमा भात, दाल, तरकारी र शुद्ध पानी वितरण गरी यात्रुलाई राहत दिने प्रयास गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भने, “वर्षामा सडक हिलाम्य हुनु स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको हो । स्थानीय तह, निर्माण कम्पनी र प्रहरी प्रशासनको समन्वयमा वैकल्पिक उपायको प्रयास भइरहेको छ । तर अझै केही समय यात्रुहरूलाई सास्ती हुने देखिन्छ ।”
वि.सं. २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल खण्डको दुम्कीवास–दाउन्ने क्षेत्रमा चुनौती झन् बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनबाट सवारी सञ्चालन हुँदै आएको छ तर खोलामा बाढी आउँदा डाइभर्सन बारम्बार बग्ने क्रम रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगिसकेको छ ।
दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक वर्षामा हिलाम्य बनेको छ । यात्रुहरूको गुनासो छ— “ठेकेदारले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेका कारण अवस्था दिनदिनै खराब बन्दै गएको छ ।”