बारा प्रहरीले लागुऔषध गाँजा जस्तो देखिने २१२ किलो ९२८ ग्राम पदार्थसहित चार जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा प्रहरीले एक पिकअप गाडीबाट उक्त गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो पिकअप गाडी चेकजाँच गर्दा गाँजा लुकाएर ल्याइएको भेटिएको हो । प्रहरीले गाडीसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
रबि कार्की (२८ वर्ष) – चालक, थाहा नगरपालिका–४, मकवानपुर
बिर बहादुर गोले (४६ वर्ष) – टिसटुङ, थाहा नगरपालिका–१२, मकवानपुर
साजन मुक्तान (२३ वर्ष) – हेटौंडा–१४, उतरपानी
महेश तामाङ (३१ वर्ष) – थाक्रे गाउँपालिका–७, धादिङ
हेटौंडाबाट प्रसौनी गण्डकतर्फ लागुऔषध ल्याउँदै गरिएको सूचनाको आधारमा प्रहरीले प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा सिमरा र प्रसौनीबाट खटिएको संयुक्त टोलीद्वारा जाँच गरेको थियो ।
परवानीपुर गाउँपालिका–५ स्थित गण्डक नहरको सडक खण्डमा चेक प्वाइन्ट राखेर सवारीसाधन तथा पैदल यात्रुहरूको चेकजाँच गरिएको थियो ।
पक्राउ परेका व्यक्तिहरूले पिकअप गाडीमा धानको भुसभित्र गाँजा लुकाएर लैजाँदै गरेको पाइएपछि थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले सो जानकारी दिएका हुन् ।