हेटौंडा । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले शुक्रबार एकैदिन पदबाट राजीनामा दिएका छन् । राजीनामा दिने सबै मन्त्री नेपाली कांग्रेस कोटाबाट सरकारमा सहभागी थिए ।
राजीनामा दिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।
बागमती सरकारमा हाल मुख्यमन्त्रीसहित कांग्रेसका आठ जना मन्त्री सहभागी छन् । तीमध्ये चार मन्त्रीको एकैपटक राजीनामा आउनुले प्रदेश सरकारको शक्ति सन्तुलन र दलगत समीकरणमा तरंग ल्याएको छ ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हटाउने उद्देश्यसहित राजीनामा दिइएको स्रोतले जनाएको छ ।
संसदीय दलको नेताबाट जम्कट्टेललाई हटाएर नयाँ मुख्यमन्त्री चयन गर्ने तयारीसहित कांग्रेसभित्र चहलपहल बढेको छ । कुल ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा नेताविरुद्ध २४ जना सांसद उभिएको बताइएको छ। यद्यपि नेतृत्व परिवर्तनको पक्षमा तयार पारिएको पत्रमा २१ जनामात्र हस्ताक्षर गरेका छन् ।
उक्त पत्र र असन्तुष्टि सम्बन्धी जानकारी केही सांसदहरूले मुख्यमन्त्री जम्कट्टेललाई व्हाट्सएपमार्फत समेत पठाएको स्रोतको दाबी छ ।